सल्यान १३, जेष्ठ ।
सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ मा जेष्ठ नागरिक उपचार तथा परामर्श सेवा शुरु गरिएको छ । ८० बर्ष उमेर माथीका जेष्ठ नागरिकहरुलाई घरमा नै गएर स्वास्थ्य उपचार सेवा थालिएको हो । जेष्ठ नागरिकहरुलाई हिडडुल गर्न समस्या हुने र बिभिन्न रोगहरुले आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले उनीहरुको घरमा नै गएर स्वास्थ्य जाँच र परामर्श दिन थालिएको छ ।
लेखपोखराका सबै जेष्ठ नागरिकहरुको घरमा नै गएर स्वास्थ्य उपचार तथा परामर्श प्रदान गर्न थालिएको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराका इन्चार्ज बीर बहादर वलीले जानकारी दिनुभयो । अहिले लेखपोखरामा ८० बर्ष उमेर माथीका जेष्ठ नागरिक महिला ४ जना र पुरुष २ जना गरी ६ जना रहेका छन् । उनीहरु मध्ये ४ जनाको घरमा नै गएर स्वास्थ्य जाँच गरिएको छ भने बाँकी २ जनाको पनि घरमा नै गएर स्वास्थ्य जाँच गरिने उहाँको भनाई छ ।
‘जेष्ठ नागरिकहरुलाई सामान्य स्वास्थ्य समस्या लिएर स्वास्थ्य संस्थामा आउन समस्या हुन्छ, त्यसैले हामीले उहाँहरु कै घरमा गएर स्वास्थ्य परिक्षण गरेका छौँ, अहिले सम्म सबैको स्वास्थ्य अबस्था सामान्य छ, सुगर, प्रेसर लगाएका कुनै पनि समस्या नभएको पाईको छ’ उहाँले भन्नुभयो । उहाँले स्वास्थ्य जाँच सँगै आबश्यक पर्ने औषधिहरु समेत सँगै लिएर जाने र समस्या भएको अबस्थामा उपलब्ध गराउने गरेको बताउनुभयो ।
यस्तै खानपिनमा बिशेष ध्यान दिन सुझाव दिएको उहाँको भनाई छ । ‘भिटामिन र पोषणयुक्त खानेकुराहरु खान सुझाव दिएका छौँ, धुम्रपान र मद्यपान नगर्न आग्रह गरेका छौँ’ उहाँले भन्नुभयो ‘हामी घरमा नै गएर स्वास्थ्य परिक्षण सँगै परामर्श प्रदान गर्दा उहाँहरु निकै खुसी हुनुभएको छ ।’ घरमा नै गएर स्वास्थ्य परिक्षण तथा परामर्श प्रदान गर्दा जेष्ठ नागरिकहरुमा थप हौशला प्राप्त भएको उहाँको भनाई छ ।