सल्लीवजार १७, जेष्ठ ।
सुर्खेतको सिम्ता गाउँपालिकामा भारतबाट करिब १७ सय नागरिक भित्रिएका छन् । मजदुरीका लागी भारतका बिभिन्न ठाँउमा गएका उनीहरु मध्ये केही दिन यता गाउपालिकामा भित्रिनेको संख्या मात्रै १७ सय बढी रहेको छ । गाउपालिका सँग ४ हजार ४ सय ८१ नागरिक भारतमा मजदुरीको लागि तथ्यांक छ ।
अहिले गाउपालिकामा भित्रिएका ती नागरिकहरुको कोरोना भए नभएको पत्ता लगाउन स्वाब संकलन गर्न थालिएको छ । जस अनुसार शुक्रबार २ सय १ जनाको स्वाब संकलन गरि परिक्षणका लागी सुर्खेत पठाइएको छ । बागेश्वरी मावि राकम क्वारेन्टाइनमा रहेका ६० जना, नेरा मावि वजेडा आलिमा रहेका ७० जना र भानु मावि वजेडिचौर क्वारेन्टाइनमा वसेका ७१ जनाको स्वाब संकलन गरिएको हो ।
गाउपालिकामा भित्रिएका नागरिकहरुलाई राख्नको लागी ३७ विद्यालयमा क्वारेन्टाइन तयार पारिएको स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिनुभएको छ । अहिले सम्म गाउपालिकामा भित्रिएका सबैको स्वास्थ्य अबस्था सामान्य रहेको उहाँको भनाई छ ।
यस्तै गाउपालिकामा फर्किएका सबै नागरिकको पिसिआर परिक्षणका लागी १६ सय भिटिएम खरिद गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभएको छ । सबैलाई क्वारेन्टाइन बसेको समय पुगेपछि परिक्षण गर्ने उहाँको भनाइ छ ।