सल्यानका २५ कोरोना संक्रमित : १२ जना सल्यानमा, १३ जनालाई सुर्खेत पठाइयो

नगरलाई तत्काल शिल गर्ने सम्भावना छैन : प्रमुख जिल्ला अधिकारी पोखरेल

सल्यान १८, जेष्ठ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा २५ जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये १२ जनालाई जिल्ला अस्पताल सल्यानमा ल्याईएको छ भने बाँकी १३ जनालाई सुर्खेत पठाईएको छ । संक्रमित मध्येका १२ जनालाई जिल्ला अस्पताल सल्यानमा निर्माण गरिएको आसोलेसनमा राखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । अरु १३ जनालाई कोरोना बिशेष अस्पताल सुर्खेत कालागाँउमा पठाईएको उहाँको भनाई छ ।

संक्रमितहरु भारतको महाराष्ट्रबाट आएका थिए

सल्यानको बन्गाडमा भेटिएका कोरोना संक्रमितहरु भारतको महाराष्ट्रबाट आएको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभएको छ । बन्गाड कुपिण्डे नगरपालिकाका १८ वटा बिद्यालयमा गरेर अहिले १ सय ३० जना महिला र १ हजार ७१ जना पुरुष गरी १ हजार २ सय १ जना क्वारेन्टाइनमा रहेका छन् । बन्गाड क्याम्पस बन्गाड र प्रभाकर माद्यामिक बिद्यालय देबस्थलमा बसेका ३ सय ९३ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागी सुर्खेत पठाईएको थियो ।
ती मध्ये अहिले ८० जनाको रिपोर्ट आएको र बाँकी २ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँको भनाई छ । बन्गाड क्याम्पसमा रहेका २२ जना र देवस्थल क्वारेन्टाइनमा रहेका ३ जनामा संक्रमण पुष्टी भएको उहाँले जानकारी दिनुभयो ।


सामुहिक क्वारेन्टाइनले समस्या बनायो
बन्गाड कुपिण्डे नगरपालिकाका नगरपमुख गोबिन्द कुमार पुनले सामुहिक क्वारेनटाइनले गर्दा समस्या भएको बताउनुभएको छ । अहिले भेटिएका कोरोना संक्रमित जेष्ठ ८ गते नगरमा भित्रिएका थिए । उनीहरुलाई बन्गाड र देबस्थलमा राखिएको थियो । उनीहरु सँगै कुमाख गाउपालिका, बागचौर नगरपालिका लगाएतका स्थानिय तहका नागरिकहरु पनि भित्रिएका थिए ।

नगर प्रमुख पुनले एकल क्वारेन्टनाइन भएको भए यती धेरै जोखिम नहुने बताउनुभयो । ‘सामुहिक क्वारेन्टाइनले गर्दा समस्या भएको छ । उनीहरु सबैलाई दुई वटा बिद्यालयमा रोखका छौँ, आरडिटि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो तर पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो, यहाँ संक्रमितको संख्या बढ्न सक्छ, स्थिती भयावह हुन सक्छ’ उहाँले भन्नुभयो ।

नगरलाई तत्काल शिल गर्ने सम्भावना छैन : प्रमुख जिल्ला अधिकारी पोखरेल
सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कोरोना संक्रमित भेटिएको बन्गाड कुपिण्डे नगरपालिकालाई तत्काल शिल गर्ने सम्भावना नरहेको बताउनुभएको छ । ‘भारतबाट फर्किएका नागरिकहरु गाँउमा गएको र स्थानियको सम्पर्कमा आएको भए शिल गर्नुपर्ने थियो तर बन्गाडमा आएका सबै नागरिकहरु क्वारेन्टाइनमा बस्नु भएको छ, क्वारेन्टाइन आफै शिल गरिएको क्षेत्र हो’ उहाँले भन्नुभयो । अबका दिनमा पनि कोरोना संक्रमितको संख्या थपिदैँ गएमा तत्काल एक्सन लिने उहाँको भनाई छ ।

नगरपालिकासँग एम्बुलेन्स नहुदाँ झन् समस्या
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा एउटा पनि एम्बुलेन्स नहुदाँ समस्या भएको छ । बिकास निर्माणका अन्य काममा केन्द्रित भएका जनप्रतिनिधिहरु अहिले एम्बुलेन्स नभएपछि समस्यामा परेका छन् । नगरमा एम्बुलेन्स नभएपछि अरु स्थानिय तहको भर पर्नु परेको छ । कोरोना संक्रमित तथा विरामी वोक्ने एम्बुलेन्स नभएपछि जिल्लाको छत्रेश्वरी गाउपालिकाले एउटा एम्बुलेन्स नगरमा पठाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस