बिद्यार्थी भेट्दै प्रधानाध्यापक

‘घरमै गएर किताव वितरण, घरमै गएर गृहकार्य जाँच’

सल्यान २०, जेष्ठ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारले लकडाउन गरेको छ । अत्याबश्यक बाहेकका सरकारी कार्यालय, गैरसरकारी कार्यालय, यातायात, उद्योगधन्दा, कलकारखाना, बजार, शैक्षिक संघसंस्था सबै बन्द छन् । लामो समय देखी लकडाउन जारी रहदा बिद्यार्थीहरु बिद्यालय जान पाएका छैनन् । बालबालिकाहरुलाई घरमा नै कसरी पठनपाठन र सिर्जनात्मक क्रियाकलापमा सरिक बनाउने भन्ने शिक्षक, अभिभावकहरुमा चुनौती थपिएको छ ।

यस्तो अबस्थामा सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ ठाटिचौरमा रहेको त्रिबेणी आधारभूत बिद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेत भने बिद्यार्थी भेट्न घर–घरमा जानु थाल्नु भएको छ । अहिलेको परिस्थितीमा बिद्यार्थीहरुलाई बिद्यालयमा बोलाएर पठनपाठन गराउन सक्ने अबस्था नभएपछि प्रधानाध्यापक बस्नेत किताव बितरण गर्दै बिद्यार्थीहरुको घर–घरमा जान थाल्नु भएको हो ।

कक्षा ५ सम्म सञ्चालित यस बिद्यालयमा अहिले ५६ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । ती बिद्यार्थीहरुको घरैमा गएर किताव वितरण गर्ने र गृहकार्य दिदैँ घर–घरमा जानु उहाँको अहिले दैनिकी बनेको छ । ‘कोरोनाका कारणले उत्पन्न भएको परिस्थिती सामान्य बन्छ भन्ने आस थियो तर परिस्थिती झन् जटिल बन्दै गयो, यस्तो अबस्थामा बिद्यार्थीहरु लामो समय देखी पठनपाठनबाट बञ्चित भएकाले उनीहरुको घरैमा गएर किताव बितरण गर्न शुरु गरेको छु’ उहाँले भन्नुभयो ।


‘बिद्यालयमा आएका नयाँ र केही पुराना किताव मिलाएर वितरण गरिरहेको छु, पठनसिपको बिकास गर्दै बालबालिकालाई सिर्जनात्मक कार्यमा सक्रिय बनुन् भनेर यो कामको थालनी गरेको हुँ, पहिलो चरणमा सबैको घरमा गएर किताव वितरण सँगै गृहकार्य दिदैँ हिडेको छु’ उहाँले भन्नुभयो ‘अब दोस्रो चरणमा गृहकार्य जाँच सँगै पठनपाठनमा सक्रिय बन्नुपर्छ भनेर प्रेरित गर्दै हिड्छु ।’ कोरोना भाइरसको सन्त्रासका बीचमा आबश्यक सुरक्षा सर्तकता अपनाउदैँ बिद्यार्थीहरुको घरमा जाने गरेको उहाँको भनाई छ ।

‘लामो समय देखी पठनपाठनबाट बञ्चित भएका बिद्यार्थीहरु घरमा नै किताव लिएर गएपछि खुसी भएका छन्, उनीहरु नियमित रुपमा पठनपाठनका क्रियाकलापमा सक्रिय बन्छन् भन्ने आसा छ’ उहाँले भन्नुभयो । यस्तै अभिभावकहरु पनि आफ्ना बालबालिकाहरुले अब घरैमा बसेर पढ्न सक्ने भन्दै खुसी ब्यक्त गरेका छन् ।

अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई अन्य काम भन्दा पढाईलेखाई, रचनात्मक काम र घरायसी कार्यमा आफुसँगै सरिक बनाउन सुझाव दिएको उहाँको भनाई छ । उहाँले बागचौर नगरपालिकाको शिक्षा शाखा सँग समन्वय गरेर घरदैलो अभियान शुरु गरेको बताउनुभयो । बिद्यार्थीलाई घरैमा बसेर पनि पढ्नलेख्न र ज्ञानआर्जन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न आफु बिद्यार्थी भेट्दै घर–घरमा जाने गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस