सल्यानका २० जना कोरोना संक्रमितलाई लुहापिङ आइसोलेसनमा राखियो

परिक्षणका लागी पठाएको स्वावको रिपोर्ट आउन ढिलाई

सल्यान २२, जेष्ठ ।
सल्यानका तीन स्थानिय तहमा भेटिएका २० जना कोरोना संक्रमितलाई लुहापिङमा रहेको आइसोलेसनमा राखिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका, कुमाख गाउपालिका र कपुरकोट गाउपालिकामा भेटिएका कोरोना संक्रमितहरुलाई लुहापिङ स्थित सल्यान बहुमुखी क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा ल्याएर राखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका प्रमुख डा. अर्जुन कुमार बुढाले बन्गाडका १७ संक्रमित मध्ये १२ जना, कुमाखका २ जना र कपुरकोटका १ जनालाई लुहापिङ स्थित आइसोलेसनमा राखिएको जानकारी दिनुभयो । यस्तै बन्गाडका बाँकी ५ जनालाई ल्याउनको लागी गाडी गएको र आज रातीसम्म नै ल्याएर राखिने उहाँको भनाई छ । दार्मा गाउपालिकामा भेटिएका ९ जना संक्रमितहरुलाई भने भोली शुक्रवार ल्याएर लुहापिङ स्थित आइसोलेसनमा राख्ने गरी तयारी भैरहेको उहाँको भनाई छ ।

नेपाली सेनाको सहयोगमा सल्यान बहुमुखी क्याम्पसमा दुई दिनको अवधिमा सय शश्याको आइसोलेसन निमार्ण गरिएको छ । जिल्लामा अहिले सम्म ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।


परिक्षणका लागी पठाएको स्वावको रिपोर्ट आउन ढिलाई
सल्यानका क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागी पठाएको हप्ता दिन बढी हुदाँ पनि रिपोर्ट नआउदाँ समस्या भएको छ । जिल्लाका स्थानिय तहले निर्माण गरेका क्वारेन्टाइनमा अहिले करिब ३ हजार बढी नागरिक रहेका छन् । ती मध्ये सयौँ नागरिकहरुको कोरोना भए नभएको पत्ता लगाउनको लागी जिल्लाका सयौँ नागरिकहरुको स्वाव संकलन गरेर परिक्षणका लागी सुर्खेत पठाइएको छ ।

तर पनि परिक्षणका लागी पठाएको स्वाव हप्ता दिनभन्दा बढी समय हुदाँ पनि रिपोर्ट नआउदा समस्या भएको स्थानिय तहका जनप्रतिनिधिहरुको भनाई छ । रिपोर्ट आएको भए क्वारेन्टाइनमा बसेका नागरिकहरुको ब्यबस्थापन गर्न सजिलो हुने उनीहरुको दावी छ । हप्ता दिन बितिसक्दा पनि रिपोर्ट नआउदाँ संक्रमणको जोखिम बढ्दै गएको छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका, दार्मा गाउपालिका, कुमाख गाउपालिका लगाएतका स्थानिय तहमा संकलित स्वावको रिपोर्ट नआउदाँ समस्या भएको हो । अहिले उनीहरुको खान, बस्न लगाएतका ब्यबस्थापनमा समस्या भएको छ । जसले गर्दा जिल्लामा भेटिएका कोरोना संक्रमितहरुको ब्यबस्थापनमा समेत समस्या भएको जनप्रतिनिधिहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस