सिद्ध कुमाख गाउपालिकाको क्वारेन्टाईनमा बसेकाको सराहनिय काम

करेसाबारी र बृक्षारोपण गर्ने खाडल निर्माण

सल्यान २३, जेष्ठ ।
कोरोना भाइरस नेपाल सहित बिश्वका २ सय १२ वटा देशमा फैलिएको छ । नेपालमा कोरोना भाइरसको थप संक्रमण फैलन नदिनको लागी सरकारले देश लकडाउन गरेको छ । यस्तो अबस्थामा भारत सहित तेस्रोमुलुक वा अन्र्तजिल्लाबाट फर्किएका ब्यक्तिहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्छ । यस्तो अबस्थामा क्वारेन्टाइनमा बसेकाहरुलाई दिन बिताउन निकैँ समस्या पर्छ ।

तर सल्यानको एक क्वारेन्टाइनमा बसेकाहरुले भने रचनात्मक काम गरेका छन् । जिल्लाको सिद्ध कुमाख गाउपालिका वडा नम्बर ३ फलाँटेमा रहेको बालकल्याण आधारभूत बिद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले भने सराहनिय काम गरेका छन् । उनीहरुले भौतिक दुरी काम राखी बिद्यालयमा करेसावारी र बृक्षारोपण गर्ने खाडल निर्माण गरेका हुन् ।


यहाँको क्वारेन्टाइनमा रहेका २४ जना व्यक्तिहरुले २ वटा करेसाबारी र विरुवा रोप्नको लागि झण्डै ३ दर्जन खाडल तयार पारेका छन् । दिनभर वसेर समय त्यसै खेर फाल्नु भन्दा समयको सदुपयोग गर्न र आफ्ना नानीबाबुहरुको लागि राम्रो सिकाइ बनोस भनेर यस्तो काम गरेको क्वारेन्टाइनमा बसेका धन बहादुर चलाउनेले बताउनुभयो ।

सिद्ध कुमाख गाउँपालिकामा नै रहेको कृषि बन नर्सरीबाट सुन्तला, कागती र टिमुरका बिरुवाहरु लिएर रोप्नका लागी खाडल तयार पारिएको अर्का नर बहादुर बुढाथोकीले बताउनु भएको छ । यस्तै करेसावारीमा बर्षे तरकारी लगाउने तयारी भैरहेको उहाँको भनाई छ । अहिले क्वारेन्टाइनमा बस्दा कुनै समस्या नरहेको उहाँले जानकारी दिनुभयो ।


यस क्वारेन्टाइनमा रहेका २४ जना मध्ये २० जनाको स्वाव संकलन गरी पिसिआर परिक्षणका लागी पठाई सकेको गाउपालिकाका सुचना अधिकारी भिम भण्डारीले जानकारी दिनुभयो । बाँकी ४ जनाको पनि स्वाव संकलन गरेर पठाउने तयारी भैरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस