सल्यान २५, जेष्ठ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सल्यानको बागचौर नगरपालिकाले अहिलेसम्म २९ लाख बढी खर्च भएको जनाएको छ । नगरभित्रका नागरिकहरुको उद्धार, राहत वितरण, क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरिद लगाएका कार्यमा २९ लाख ७२ हजार ५ सय ७८ रुपैँया खर्च भएको नगरपालिकाले जनाएको छ ।
यस नगरपालिकामा देश तथा विदेशबाट आउने व्यक्तिहरूको संख्या पनि दिनदिनै बढ्दो क्रममा रहेको छ । यस जोखिम परिस्थितिमा कोरोना भाइरसको जोखिम रोकथाम तथा क्वारेनटाइन व्यवस्थापन गर्न नगरपालिका सक्रिय रूपमा अगाडि बढेको छ । नगरपालिकामा स्थापना गरिएको कोरोना भाइरसको रोकथाम, उद्धार तथा राहत कोषबाट २९ लाख ७२ हजार ५ सय ७८ रुपैँया खर्च भएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।
जसमा राहत सामाग्री खरिद तथा वितरणमा २३ लाख ५१ हजार, क्वारेनटाइन निर्माणमा १ लाख ३१ हजार ५ सय र मेडिकल सामाग्रीहरू खरिदमा ४ लाख ९० हजार ७८ रुपैँया खर्च भएको छ । यसैबिच नगरपालिकाको क्वारेनटाइनमा हाल ४ सय १७ जना रहेका छन् । ३ सय ७३ जना पुरुष र ४४ जना महिला गरेर ४ सय १७ जना रहेको नरपालिकाले जनाएको छ ।