भत्ताले जीवननिर्वाह गर्दै आएका यातायात क्षेत्रका मजदुर मर्कामा

बागचौर २६, जेष्ठ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले लकडाउनको घोषणा गरे पश्चात दैनिकी मजदुरी गर्दै आएका बिपन्न परिवार सँगै यातायात क्षेत्रका मजदुरहरु पनि निकै मारमा परेका छन् । लकडाउनका कारण सवारी साधन सञ्चालन नहुदाँ समस्यामा परेको उनीहरुको भनाई छ । यातायात ब्यबसायी त मारमा परेका छन् नै तर ती यातायातमा काम गर्ने मजदुर झन् मारमा परेका हुन् ।

निजि सवारी चलाउने मजदुरहरुको मासिक तलव हुन्छ । तर सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने मजदुरहरु भने दैनिक भत्ताले नै जीवन निर्वाह गर्दै आएका हुन्छन् तर करिब अढाई महिना देखी लकडाउनका कारण यातायातका साधन सञ्चालन नहुदाँ उनीहरु मारमा परेका छन् । अहिले दैनिकी चलाउन समस्या भएको सल्यान बागचौर घर भएका एक गाडी चालक मान बहादुर योगीको भनाई छ ।


लकडाउनका कारण यातायातमा काम गर्ने चालक, सहचालक सबैभन्दा बढी मारमा परेको उहाँको गुणासो छ । ‘गाडी चल्दा दैनिक रुपमा भत्ता आउथ्योँ । यसले आफ्नो खर्च सँगै घर खर्च चलाउन सजिलो हुन्थ्योँ । तर झण्डै तीन महिना हुन थाल्यो, गाडी गुड्न पाएको छैन्, यस्तो अबस्थामा गाडी मालिकले भत्ता दिने कुरा भएन्, अहिले धेरै समस्या भएको छ’ उहाँले भन्नुभयो ।

गाडी चालक र सहचालकको काम गरे बाफतको तलव नहुदाँ समस्या भएको अर्का गाडी चालक माल्नेटा घर भएका भूपाल बिकले गुणासो गर्नुभयो । बिगत २५ बर्ष देखी भत्ताको भरमा जीवन निर्वाह गर्दै आएको बताउदैँ उहाँले अहिले जस्तो समस्या कहिल्यै नभएको बताउनुभयो । ‘गाडी चलाएपछि भत्ता पाइन्छ, दाङ देखी रुकुम सदरमुकाम गाडी लिएर गएमा एक पटकको पाँच हजार चालकलाई हुन्छ, २ हजार सहचालकलाई हुन्छ, तर अहिले गाडी चल्दैनन्’ उहाँले भन्नुभयो ‘जसले गर्दा समस्या भएको छ ।’

जिल्लामा झण्डै २ सयको हाराहारीमा सार्वजनिक सवारी साधन छन् । यस क्षेत्रमा काम गर्ने जिल्लामा करिब ४ सय बढी मजदुर छन् । बिगतमा बिभिन्न मजदुर संगठनहरुले तपाईहरुको साथमा छौँ भनेर नारा लगाएपनि अहिलेको परिस्थितीमा कुनै वास्ता नगरेको यातायात क्षेत्रका मजदुरहरुको गुणासो छ । गाडी नचल्दा गाडीको मासिक किस्ता कसरी तिर्ने भन्ने समस्या रहेको ब्यबसायीहरुको गुणासो छ ।

प्रतिक्रिया दिनुहोस