सल्यानबाट कर्णाली प्रदेश राजधानी जोड्ने बैकल्पिक सडक निर्माण

'ढोरचौर-उचाल्ने-सल्लीवजार हुदैँ सुर्खेत जोडिएको छ'

सल्यान २८, जेष्ठ ।
सल्यानबाट प्रदेश राजधानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । जिल्लाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने बैकल्पिक सडक निर्माण कार्य सम्पन्न भएको हो । यस सँगै अब सिद्ध कुमाख गाउपालिकाको ढोरचौर उचाल्ने हुदैँ सल्लीवजारबाट सुर्खेत सिधा सडक सञ्जालमा जोडिएको हो ।

कर्णाली प्रदेश सरकारको समपुरक बजेटबाट सडक निर्माण कार्य सम्पन्न भएको गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो । ढोरचौर उचाल्ने खार्वन हुदैँ सागिने जोडिने सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको उहाँको भनाई छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको बिशेष पहलमा करिब ७५ लाख रुपैँया प्रदेश सरकार र बाँकी गाउपालिकाको गरेर झण्डै २ करोड बढीको लागतमा सडक निर्माण गरिएको हो ।

अब खलंगामा नगएरै सिधै ढोरचौर सल्लीवजार हुदैँ सुर्खेत पुग्न सकिने अध्यक्ष चलाउनेले जानकारी दिनुभयो । ‘अब सुर्खेत जान समस्या भएन, सडकको नयाँ ट्रयाक खोलिएको छ, ट्याक्टर सहितका साना सवारी साधनहरु चलिरहेका छन्’ उहाँले भन्नुभयो ‘यो सडक नै गाउपालिकाको मूख्य सडक हो ।’


शुरुवात गरिएको तीन बर्ष पछि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको गाउपालिकाले जनाएको छ । यस्तै गाउपालिकाका वडा नम्बर ४ मा पर्ने सागिने पनि पहिलो पटक सडक सञ्जालमा जोडिएकोे छ । आफ्नै वडा भएर प्रदेश राजधानी जोड्ने सडक सञ्चालनमा आएपछि स्थानिय खुसी भएका छन् ।

भौगोलिक बिकटताका बाबजुत पनि सडकको ट्रयाक खोल्ने काम सफलता पूर्वक सम्पन्न भएको स्थानीय घनवहादुर चलाउनेले बताउनुभयो । गाउँ सडक सञ्जालमा जोडिएसँगै प्रदेश राजधानी जाड्ने मार्ग पनि यही भएकाले गाउपालिकाको महत्वपूर्ण सडक भएको उहाँको भनाई छ । प्रदेश राजधानी जोड्न यो सडक निकै छोटो मार्ग भएको उहाँले जानकारी दिनुभयो ।

यससँगै अब सडकको स्तरोन्नतीको लागी सरकारले तत्काल काम शुरु गर्नुपर्ने स्थानियको भनाई छ । बनगाड खोला, डाँसी खोला लगाएतका खोलामा पक्कीपुल सँगै बाह्रै महिना गाडी सञ्चालनका लागी सडक स्तरोन्नतीको काम अगाडी बढाउनु पर्नेमा स्थानियको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित