लकडाउनमा फोन बाटै ब्यापार : ‘एउटै फार्मबाट १८ लाखका बोकाबाख्रा बिक्री’

सल्यान ३०, जेष्ठ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले लकडाउन गरेको छ । नागरिकहरु घरभित्र बस्न बाध्य छन् । यस्तो अबस्थामा कुनै पनि क्षेत्रको ब्यापार ब्यबसाय सञ्चालन भएको छैन् । तर सल्यानका एक बाख्रा ब्यबसायीले भने लकडाउनमा पनि बोकाबाख्रा बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ ।

२०७० सालमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ डाँडागाउमा बहुउद्देश्यीय कृषि केन्द्र स्थापना गरेर ब्यबसायीक रुपमा बाख्रापालन गर्न शुरु गरेका कृष्णराज उपाध्यायले लकडाउनको समयमा पनि राम्रो आम्दानी गर्नुभएको हो । ३० वटा बाख्राबाट ब्यबसाय शुरु गर्नु भएका उहाँले लकडाउनको अबधिमा मात्रै १० वटा बोयर क्रस बोका सहित ५८ जना बाख्रा बिक्री गर्नुभएको छ ।


जसबाट १८ लाख १८ हजार आम्दानी भएको उहाँको भनाई छ । ‘कोरोना रोकथामको लागी सरकारले लकडाउन गरेको छ, यस बर्ष बोकाबाख्रा बिक्री नहुने भए भनेर चिन्तामा थिए, तर लकडाउनमा पनि फोन बाटै कुराकानी भएर ५८ वटा बोकाबाख्रा बिक्री भयो’ उहाँले भन्नुभयो । उहाँले ती सबै बोकाबाख्रा काभ्रेपलान्चोकको पाँचखाल पठाईएको बताउनुभयो ।

‘काभ्रेपलान्चोकको एक ग्रामिण कृषि केन्द्रले बोका र बाख्राको माग ग¥यो, फोनबाट नै सबै कुरा भएको हो’ उहाँले भन्नुभयो ‘पशु कार्यालयबाट अनुमती मागेर २ वटा गाडीमा काभ्रे पठाएको हुँ ।’ गत बर्ष पनि बोका र बाख्रा गरेर १ सय ६ वटा बिक्री गरेको उहाँको भनाई छ । यस बर्ष पनि सबै गरेर ६८ वटा बोका र बाख्रा बिक्री भएको उहाँले जानकारी दिनुभयो ।


यस बहुउद्धेश्यीय कृषि केन्द्रमा बोका र बाख्रा गरेर अझै ७६ वटा रहेका छन् । यस बर्षको अहिले सम्म करिब २३ लाख रुपैयाँ बढी आम्दानी भएको उहाँको भनाई छ । यस फर्ममा २ जना यूवाले रोजगारी समेत पाएका छन् । प्याक्टको १० लाख, यूवा स्वरोजगार कार्यक्रमको २ लाख र आफ्नो ब्यक्तिगत लगानी गरेर झण्डै ३० लाखको लागतमा ब्यबसायिक रुपमा बाख्रापालन गर्न शुरु गरिएको थियो ।

आधुनिक खोर निर्माण गरेर बाख्रापालन गर्दै आएका उहाँले घाँस खेती समेत गर्नुभएको छ । शुरुमा जसरी अहिले ब्यबसाय सञ्चालन गर्न कुनै समस्या नरहेको उहाँको भनाई छ । जिल्लामा पछिल्लो समयमा बिदेशिने यूवायूवतीको संख्या बढ्दै गएको अबस्थामा उनीहरुको माझमा स्वदेशमा नै बसेर केही गर्न सकिदो रहिछ भन्ने सन्देश दिनको लागी बहुउद्देश्यीय कृर्षि केन्द्र स्थापना गरेर ब्यबसाय सञ्चालन गरेको उहाँको भनाई छ । जिल्लामा उत्पादित खसीबोकाहरुले बजारभाउ पनि राम्रो पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस