सल्लीवजार २, आषाढ ।
सल्यानका बिभिन्न स्थानहरुमा खानेपानीको हाहाकार हुन थालेको छ । खानेपानीका मुहान कम हुनु र भएका मुहानहरु पनि बढ्दो गर्मीका कारण सुक्दै जान थालेपछि खानेपानीको हाहाकार हुन थालेको हो । तर खानेपानीको माग भने दिन प्रतिदिन बढ्दै जान थालेको छ । खेतीपाती, सिँचाइ तथा अन्य प्रयोजनका लागि त परै जाओस् पिउन समेत पानी नपाउने अवस्था आएपछि स्थानीयलाई झन् समस्या थपिएको छ ।
अहिले सल्यानको पश्चिमी क्षेत्रमा रहेको सल्लीवजारमा खानेपानीको हाहाकार भएको छ । बजारमा जडान गरिएका खानेपानीका धाराहरुमा पानी आउन छोडेपछि स्थानियलाई खानेपानीको जोहो गर्न निकै समस्या हुने गरेको छ । सल्लीवजारका स्थानियहरु इनार भएका घरहरुमा पानी ल्याउन जानेहरुको भिड नै लाग्ने गरेको पाइन्छ । सल्लीवजारमा हुनेखाने सम्पन्न घरमा इनार छ तर बिपन्न र हुदाखाने घरमा इनार नहुदाँ उनीहरुलाई झन् समस्या भएको छ ।
यहाँ खानेपानीको ब्यबस्थापनको लागी बर्षेनी लाखौँ रुपैँया विनियोजन हुन्छ । तर प्रभावकारी काम नहुदाँ भने समस्या थपिएको छ । बिगत केही बर्षयता बर्षेनी जस्तो खानेपानीको लागी लाखौँ वजेट विनियोजन भएर खर्च हुदै आएको भएपनि यसको दिगो ब्यबस्थापन भने हुन सकेको छैन् । इनारबाट लिफ्ट गर्ने भनेर रु.२ लाख ५० हजार खर्च भयो तर त्यो काम पनि सफल हुन सकेकौ छैन ।
यस्तै मर्मतका नाममा करिब एक लाख रुपैँया खर्च भयो । गत बर्ष करिव ४५ लाख रुपैँया खर्च गरेर योजना सम्पन्न भयो । यो आर्थिक वर्षमा पनि साढे चार लाख खर्च हुदै छ । तर पनि खानेपानीको समस्या समाधान हुन सकेको छैन् । स्थानिय प्रेम पुनले हचुँवाको भरमा खानेपानी योजना निर्माण गर्दा दिगो हुन नसकेको बताउनुभयो ।
यस क्षेत्रमा मात्रै बृहत खानेपानी आयोजनाका लागी करोडौँ रुपैँया विनियोजन भएको थियो तर स्थाानियको बिबादका कारण आयोजनाको काम अगाडी बढ्न नसकेको उहाँको भनाई छ । सरोकारवाला निकायहरु जिम्मेवार नबन्दा खानेपानी समस्याको समाधान हुन नसकेको स्थानियको भनाई छ ।