सल्यानका थप ४१ जनाले कोरोनालाई जिते : निको हुनेको संख्या ५४ पुग्यो

सल्यान २, आषाढ ।
सल्यानका थप ४१ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । जिल्ला अस्पताल सल्यान र सल्यान बहुमुखी क्याम्पस लुहापिङ आइसोलेसनमा उपचाररत ४१ जनाले कोरोनालाई जितेका हुन् । जसमा बन्गाड कुपिण्डे नगरपालिकाका ३५ जना र दार्मा गाउपालिकाका ६ जना रहेका छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जिल्ला अस्पतालको आइसोलेसनमा रहेका १२ जना मध्ये ५ जनाको पिसिआर रिपोर्ट नेगेटि आएको बताउनुभयो । यस्तै लुहापिङ आइसोलेसनमा रहेको एक सय जना मध्ये ३६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।


पिसिआर रिपोर्ट नेगेटिभ आएका सबैलाई आज घर पठाईएको उहाँको भनाई छ । उनीहरुलाई स्वास्थ्यकर्मीहरुले खादा ओढाएर बिदाई गरेका हुन् । यससँगै उनीहरुलाई केही दिन घरमा नै सुरक्षित साथ बस्न सुझाव दिईएको छ । अदम्य आँट र हिम्मतले नै कोरोनालाई जित्न सकिने उनीहरुको भनाई छ । उनीहरुले कोरोनाबाट बच्न सजकता अपनाउन आग्रह गर्दै खानपिन र नियमित सरसफाइमा बिशेष जोड दिएका छन् ।

यससँगै सल्यानमा कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या ५४ पुगेको छ । यस अघि पनि बन्गाडका १३ जना कोरोनालाई जितेर घर फर्किएका थिए । हाल सम्म सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ३६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस