सल्यानमा ब्लड बैँक स्थापना हुदैँ : भवन निर्माणको काम शुरु

सल्यान ४, आषाढ ।
सल्यानमा ब्लड बैँक स्थापना हुने भएको छ । जिल्ला अस्पताल सल्यानको परिसरमा ब्लड बैँक स्थापना हुने भएको हो । जसका लागी अहिले भवन निर्माणको काम थालिएको छ । सल्यानमा सरकारी सहित निजी स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि निकैँ समस्या हुने गरेको थियो ।

सल्यान प्रदेशसभा ‘ख’ बाट निर्वाचित कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पूर्वाधार बिशेष कार्यक्रम मार्फत ब्लड बैँक स्थापनाको लागी भवन निर्माणको काम थालिएको हो । अहिले जिल्लामा आकस्मिक रक्त सञ्चार सेवा मात्रै सञ्चालनमा छ । नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यान मार्फत रु. २० लाखमा तीन कोठे भवन निर्माणको थालनी गरिएको सभापती यौवन प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।


चालु आर्थिक बर्षमा नै भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम शुरु गरिएको उहाँको भनाई छ । ‘जिल्लामै ब्लड बैंक नहुँदा आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेहोर्नु परेको छ । बिरामीलाई रगत चाहिएको बेला व्यक्ति नै उपस्थित भएर रगत दान गर्नुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो । अव जिल्लामा ब्लड बैँक स्थापना पछि सहज हुने उहाँको भनाई छ । अहिले इमर्जेन्सी कक्षमा रगत नपाएर बिरामी छट्पटाइरहँदा रक्तदाताहरु खोज्नुपर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले अहिले जिल्लामा मोबाइल ब्लड बैँक सञ्चालन भैरहेको बताउनुभएको छ । तर ब्लड बैँक स्थापना नहुदाँ समस्या भएको छ । ‘आकस्मिक रुपमा रगत चाहिएको अबस्थामा बिरामीका आफन्त, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खोज्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गर्दछ ।’

गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएपनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको उहाँको भनाई छ । अहिले ब्लड आबश्यक पर्ने खालका मासिक रुपमा ४÷५ वटा विरामी आउने गरेको उहाँले बताउनुभयो । गर्भवती, सुत्केरी र गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस