बारीमा नै कुहिन थाल्यो तरकारी

सल्यान ७, आषाढ ।
लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी बिक्री नभएपछि बारीमा नै कुहिन थालेको छ । मौषमी तथा बेमौषमी तरकारी खेतीमा अब्बल मानिएको जिल्लामा किसानहरुले लगाएको तरकारीले वजार नपाएपछि बारीमा नै कुहिन थालेको किसानहरुले गुणासो गरेको छन् । जिल्लाको बागचौर नगरपालिका २ थारमारेमा रहेको थारमारे कृषि सहकारी संस्थामा आबद्ध किसानहरुले उत्पादन गरेको तरकारी लामो समय सम्मको लकडाउनका कारण बारीमा नै कुहिन थालेको छ ।

लकडाउनले गर्दा वजार पाउन छाडेपछि बारीमा नै तरकारी कुहिन थालेको सहकारी संस्थाका अध्यक्ष घनश्याम शर्माले बताउनुभएको छ । २०७१ सालमा ३० जना शेयर सदस्यबाट शुरु भएको यस सहकारीले बेमौषमी तरकारी खेती सँगै माछा र लोकल कुखुरा समेत पालन गर्दै आएको छ । सहकारीले बार्षिक ५ लाख बढीको उत्पादन तथा बिक्री गर्दै आएको छ ।


‘एक बर्षमा तीन सिजन तरकारी उत्पादन गर्दै आएका छौँ, यसले सहकारीलाई आर्थिक रुपमा बलियो बनाएको छ’ उहाँले भन्नुभयो ‘यस बर्ष भने लकडाउनका कारण तरकारी खरिद गर्न बाहिरबाट कोही पनि आएका छैनन्, जसका कारण तरकारी बिक्री भएको छैन्, बारीमा नै कुहिन थालेको छ ।’ उहाँले यस बर्ष तरकारीले वजार नै नपाएको बताउनुभएको छ ।

स्थानिय वजारमा थोरै मात्रामा तरकारी खपद हुदाँ समस्या भएको उहाँको भनाई छ । ‘स्थानिय वजारमा तरकारी थोरै मात्रामा खपद् हुन्छ, हामीले बिगत देखी नै यहाँको उत्पादन भएको तरकारी जिल्ला बाहिर निर्यात गर्दै आएका छौँ’ उहाँले भन्नुभयो । यस सहकारीले शुरुमा ८ लाख ५० हजार पुँजीबाट तरकारी खेती शुरु गरेको थियो ।


तरकारी खेतीलाई ब्यबस्थित गर्न गत बर्ष कृषि ज्ञान केन्द्रले रु. ४० लाख अनुदान दिएको थियो । अहिले करिब १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएको अध्यक्ष शर्माले बताउनुभयो । अर्गानिक र ताजा हुने भएकाले यस सहकारीले उत्पादन गरेको तरकारीको माग बढी हुने गरेको उहाँको भनाई छ ।

यस सहकारीले तरकारी खेती गर्नको लागी २ जनालाई रोजगारी समेत दिएको छ । यस ब्यबसायलाई अझै बढाएर लैजाने सोच रहेको सहकारीले बताएको छ । पहिले ३० जनाको शेयर सदस्यबाट शुरु भएको तरकारीखेतीमा अहिले ५५ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस