सल्यान ९, आषाढ ।
सल्यानका सरकारी कार्यालय खुले पनि सेवाग्राही भने नगन्य रहेको पाइएको छ । सरकारले करीब ३ महिनापछि आंशिक रूपमा लकडाउन खोले पनि कार्यालयमा सेवाग्राहीको आगमन भने न्यून रहेको हो । असार १ गतेदेखि जिल्लामा रहेका सबै कार्यालय खुलेका छन् ।
कार्यालयमा कर्मचारीहरु उपस्थित हुन्छन् । तर सेवाग्राही भने आएका छैनन् । जिल्लाका बढी सेवाग्राहीको चाप हुने मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय विद्युत् कार्यालयमा सेवाग्राही अपेक्षित रूपमा नआएको कर्मचारीहरू बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी नारायण लामिछानेले लामो समयपछि कार्यालय खुल्दा सेवाग्राहीको चाप बढ्ने अनुमान गरिए पनि त्यस्तो नभएको बताउनुभएको छ । ‘पहिलो दिनदेखि नै सेवाग्राहीको चाप बढ्ने अपेक्षा थियो,’ उहाँले भन्नुभयो ‘तर सेवाग्राहीको उपस्थिति पहिलेको तुलनामा एकदम कम छ ।’
मुख्यतः कोरोनाको जोखिमका कारण सेवाग्राहीहरु कम आउने गरेको उहाँको भनाई छ । यस्तै सरकारले गरेको आंशिक लकडाउन, सवारीसाधनमा जोर बिजोर प्रणाली र सार्वजनिक यातायात नचलेकाले पनि टाढाका सेवाग्राही आउन नसकेको उहाँले बताउनुभयो । सरकारले कोरोना सुरक्षा मापदण्ड र भौतिक दूरी अपनाउन सरकारी कार्यालयहरूमा दुई चरणमा कार्यालय खोल्न निर्देशन दिएको छ ।
अझै पनि कैयौं मानिस कोरोना भाइरसको जोखिम र त्रासका कारण बाहिर निस्किन सकेका छैनन् । तत्काल काम सम्पन्न गर्नुपर्ने नागरिकहरु मात्रै आउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले पनि दैनिक २०÷२५ जना सेवाग्राहीहरु सेवा लिन आउने गर्दछन् । ‘हामीले सुरक्षा सावधानी अपनाएर दुई सिफ्टमा सेवा दिएका छौं,’ उहाँले भन्नुभयो ‘तर यति लामो समयपछि कार्यालय खोल्दा पनि सेवाग्राही खासै आएका छैनन् ।’
कोरोना कारण घरजग्गा कारोबारमा समेत कमी आएको छ । यस कारण पनि सेवाग्राही घटेको अनुमान गरिएको छ । जिल्ला मालपोत कार्यालयका सुचना अधिकारी दिपक बुढाथोकीले शुरूका दिनदेखि नै सेवा नियमित गरिए पनि सेवाग्राही कम मात्रामा आउने गरेको बताउनुभयो ।
पहिले दैनिक ७० जना बढी सेवाग्राही आउने गरेको भएपनि अहिले भने फाटफुट मात्रामा मात्रै आउने गरेको उहाँको भनाई छ । तर दिनहुँ सेवाग्राहीहरु बढ्न थालेको उहाँले बताउनुभयो । आबश्यक सुरक्षा सर्तकता अपनाउदैँ सेवा प्रवाह गरिरहेको कार्यालयको भनाई छ ।