सल्यानका सबै स्थानिय तहको निती, कार्यक्रम र वजेट कस्तो छ ?

सल्यान १०, आसार ।
सल्यानका बिभिन्न स्थानिय तहहरुले आगामी आर्थिक बर्षको निति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । असार १० गते नै स्थानिय तहहरुले गाउ तथा नगरसभा गर्नुपर्ने प्राबधान अनुसार सल्यानका बिभिन्न स्थानिय तहहरुले निति, कार्यक्रम तथा बजेट सार्बजनिक गरेका हुन् । स्थानिय तहहरुले सार्वजनिक गरेको निति तथा कार्यक्रमहरुमा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्राथामिकता दिईएको छ ।

शारदामा पूर्वाधार विकासमा डोजर प्रयोग नहुने
सल्यानको शारदा नगरपालिकाले झण्डै ५० करोडको वजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्ष २०७७।०७८ को लागी रु. ४९ करोड ९९ लाख १२ हजार ५ सय १० वरावरको वजेट नगरसभा मार्फत सार्वजनिक गरेको हो । नगरपालिकाले आगामी आर्थिक बर्षमा पूर्वाधार विकासका काममा हेभ्वी ईक्यूपमेन्ट (डोजर, स्काभेटर) प्रयोग नगर्ने भएको छ । प्राबिधिक दृष्टिले जटिल प्रकृतिका कार्यहरु बाहेकका काममा श्रम प्रबृत्तिमा आधारित रोजगार उन्मुख कार्यक्रम सञ्चालन गरिने छ ।


कालीमाटी गाउपालिकाले अध्यक्ष रोजगार कायक्रम सञ्चालन गर्ने
कालीमाटी गाउपालिकाले अध्यक्ष रोजगार कायक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक बर्षको निति, कार्यक्रम तथा वजेट सार्वजनिक गर्दै गाउपालिकाले आगामी आर्थिक बर्षमा बेरोजगारहरुलाई गाँउमा नै रोजगारी दिने उद्धेश्यका साथ अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको हो । जसको लागी २ करोड रुपैँया विनियोजन गरिएको गाउपालिका अध्यक्ष दान बहादुर केसीले बताउनुभएको छ । गाउपालिकाले आगामी आर्थिक बर्षको लागी ४५ करोड ५३ लाख रुपैँया विनियोजन गरेको छ ।

कपुरकोट गाउपालिकाको वजेट रु. ३१ करोड
आर्थिक विकास र कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारलाई विशेष जोड दिँदै कपुरकोट गाउपालिकाले नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । बुधबार सातौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आर्थिक वर्ष २०७७।०७८ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । कोरोना विरुद्ध स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सघन परिचालन गरिने तथा गाउँपालिकामा रहेको ५० बेडको आइसोलेसन सेन्टर, क्वारेन्टीनको ब्यवस्थापन गर्दै स्तरिय बनाउदै लैजाने नीति, कार्यक्रममा उल्लेख छ । गाउँपालिका अध्यक्ष सेनले अनुमानित कुल वजेट सीमा ३१ करोड २९ लाख ९५ हजार रुपैया सभामा प्रस्तुत गर्नुभएको छ ।


त्रिबेणी गाउपालिकाको वजेट रु. ४२ करोड
सल्यानको त्रिबेणी गाउपालिकाले चालु आर्थिक बर्षको तुलनामा झण्डै ८ करोड बढीको वजेट सार्वजनिक गरेको छ । गाउसभामा गाउपालिका उपाध्यक्ष करुणा खड्काले आगामी आर्थिक बर्षको लागी ४२ करोड ९६ लाख १२ हजार ७ सय वरावरको अनुमानित वजेट सार्वजनिक गर्नुभएको छ । जसमा स्वास्थ्य, कृषि र पशुलाई प्राथामिकतामा राखिएको गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनुभएको छ । कृषकको उत्पादन, गाउँपालिकाको अनुदान कार्यक्रम गरिने उहाँको भनाई छ ।

छत्रेश्वरी गाउपालिकाको वजेट रु. ४२ करोड
सल्यानको छत्रेश्वरी गाउपालिकाले रु. ४२ करोड बढीको वजेट सार्वजनिक गरेको छ । गाँउसभा मार्फत गाउपालिकाले आगामी आर्थिक बर्षका लागी रु. ४२ करोड ७२ लाख ८० हजार ९ सय वरावरको वजेट सार्वजनिक गरेको हो । गाउँसभामा निति, कार्यक्रम तथा वजेट सार्वजनिक गर्दै गाउपालिका अध्यक्ष सन्तोष केसीले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर वजेट ल्याएको बताउनुभएको छ ।


सिद्ध कुमाखको वजेट २९ करोड

सल्यानको सिद्ध कुमाख गाउपालिकाले आगामी आर्थिक बर्षको लागी २९ करोडको अनुमानित वजेट सार्वजनिक गरेको छ । गाउपालिकाले कृषिमा अनुदान दिने भएको छ । निति तथा कार्यक्रममा कृषि ब्यबसायलाई ब्यबस्थित गर्दै कृषि पेशा गर्न चाहाने कृषकहरुलाई कृषि ऋणमा ब्याज अनुदान दिने ब्यबस्था गरिएको गाउपालिका अध्यक्ष अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो ।

बागचौर नगरपालिकाको निति तथा कार्यक्रम मात्रै सार्बजनिक
जिल्लाको वागचौर नगरपालिकाले नगरसभा मार्फत निति तथा कार्यक्रम मात्रै सार्बजनिक गरेको छ । बुधबार सम्पन्न नगरसभामा आगामी आर्थिक बर्षको लागी निति तथा कार्यक्रम मात्रै सार्वजनिक गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो । जसमा कोरोना रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथामिकतामा राखिएको छ । नगरले अबको केही दिनमा नै वजेट सार्वजनिक गर्ने जनाएको छ । नगरले गत वर्ष कै हाराहारीमा वजेट ल्याउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस