सल्यानका स्थानिय तहको वजेट झण्डै ३ अर्ब [ कुन स्थानिय तहको कति वजेट ? ]

सल्यान १२, आषाढ ।
सल्यानका स्थानिय तहहरुले झण्डै ३ अर्बको अनुमानित वजेट सार्वजनिक गरेका छन् । जिल्लाका दश स्थानिय तह मध्ये एक नगरपालिका र एक गाँउपालिका बाहेक आठ वटा स्थानिय तहहरुले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु. २ अर्ब ७१ करोड ६३ लाख ७० हजार वरावरको अनुमानित वजेट सार्वजनिक गरेका हुन् ।

गत बर्षको हाराहारीमा नै यस बर्षको वजेट सार्वजनिक गरिएको स्थानिय तहहरुको भनाई छ । जसमा सबैभन्दा धेरै शारदा नगरपालिकाले वजेट सार्वजनिक गरेको छ । जिल्लाको शारदा नगरपालिकाले रु. ४९ करोड ९९ लाख १२ हजार वरावरको अनुमानित वजेट सार्वजनिक गरेको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिकाले रु.४९ करोड १५ लाख ८७ हजार वरावरको अनुमानित वजेट नगरसभा मार्फत सार्वजनिक गरेको छ ।

यस्तै कालीमाटी गाउपालिकाले ४५ करोड ५३ लाख, त्रिबेणी गाउपालिकाले रु.४२ करोड ९६ लाख १२ हजार, छत्रेश्वरी गाउपालिकाले रु.४२ करोड ७२ लाख ८० हजार, दार्मा गाउँपालिकाले रु.३५ करोड ६२ लाख ४४ हजार, कपुरकोट गाउपालिकाले रु.३१ करोड २९ लाख ९५ हजार र सिद्ध कुमाख गाउपालिकाले रु.२९ करोड ४१ लाख ८७ वरावरको वजेट गाउँसभा मार्फत सार्वजनिक गरेका हुन् ।

जिल्लाका केही स्थानिय तहहरुले गत बर्षको तुलना बढी वजेट सार्वजनिक गरेका छन् भने केहीले घटाएका छन् । त्रिबेणी गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले गत बर्षको तुलनामा करिब ८ करोड रुपैँया गाँउपालिकामा बढेको बताउनुभएको छ । यस गाँउपालिकाले गत बर्ष करिब ३४ करोड वरावरको वजेट सार्वजनिक गरेको थियो ।

जिल्लाका स्थानिय तहहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र उपचारलाई प्राथामिकतामा राखेर अनुमानित वजेट सार्वजनिक गरेका छन् । यस्तै शिक्षा, कृषि, रोजगारी लगाएतका क्षेत्रहरुलाई उनीहरुले प्राथामिकतामा राखेका छन् । जिल्लाको बागचौर नगरपालिका र कुमाख गाउपालिकाले पनि गत बर्ष कै हाराहारीमा वजेट सार्वजनिक गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस