सल्यान १६, आषाढ ।
कृषि बालीमा क्षति पु¥याउँदै आएको सलहको झुण्ड सल्यानमा पहिलो पटक देखिएको किसानले बताएका छन् । जिल्लाका बिभिन्न क्षेत्रहरुमा सलह किराको झुण्ड देखिएको किसानहरुले बताएका छन् । तर यस बारेमा भने पुष्टी भएको छैन् । अहिले शारदा नगरपालिका, सिद्ध कुमाख गाउपालिका, छत्रेश्वरी गाउपालिका र कपुरकोट गाउपालिकाका किसानहरुले सलह देखिएको बताएका छन् । उनीहरुले बृहत नभएर सानो सानो झुण्डमा सलह देखिएको बताएका हुन् ।
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जिल्लाका बिभिन्न ठाँउहरुमा सलहको झुण्ड देखिएको जानकारी आएको बताउनुभएको छ । तर यस वारेमा पुष्टि गर्न भने बाँकी रहेको उहाँको भनाई छ । सानो सानो झुण्डमा सलह देखिएको किसान तथा स्थानिय तहमा रहेका कृषि शाखाबाट जानकारी प्राप्त भएको बताउदैँ उहाँले यस बारेमा पुष्टी हुन नसकेको बताउनुभएको छ ।
सलह ठूलो संख्यामा आएमा थाली र ड्रम बजाएर सलह भगाउने र आवश्यक परे विषादी पनि प्रयोग गर्नुपर्ने हुन्छ । ‘सानो बिउ भएको स्थानमा मान्छेले नै सलहलाई भगाउने र ठूलो स्थानमा आवश्यक परेको खण्डमा विषादी नै प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयो ‘अहिले नै आत्तिनुपर्ने अवस्था भने छैन तर सचेत भने बन्न आवश्यक छ ।’