चाँदनी साततले गुफा भित्र सोलार जडान


सल्यान १७, आषाढ ।
सल्यानको पर्यटकिय स्थल चाँदनी साततले गुफामा सोलार जडान गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्वर ५ लेखपोखरामा रहेको पर्यटकिय स्थल चाँदनी साततले गुफा भित्र सोलार जडान गरिएको हो । छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा ५५ वाटको सोलार जडान गरिएको हो ।

वडा कार्यालयको सहयोगमा गुफा भित्र ५ वटा बल्ब सहित सोलार जडान गरिएको चाँदनी साततले गुफा संरक्षण समितीका अध्यक्ष याम बहादुर पुनले जानकारी दिनुभयो । बिगतमा गुफा भित्र उज्यालो वनाउने कुनै साधन नहुदाँ पर्यटक आफैले टर्च, लाइट आफैँ बोकेर गुफाको अवलोकन तथा भ्रमण गर्नुपर्ने बाध्यता रहेको थियो ।

अहिले गुफा भित्र सौर्य ऊर्जा सोलार जडान गरिएसँगै पर्यटकहरुलाई गुफा भित्र घुम्न तथा अवलोकन गर्न सजिलो भएको उहाँको भनाई छ । ‘बिगतमा गुफा भित्र प्रवेश गर्दा सोलार, बिद्युत्त कुनै नहुदाँ समस्या हुने गथ्र्यो । भ्रमण तथा अवलोकनका लागी आएका पर्यटकहरुले आफै टर्च वोकेर आउनुपर्ने बाध्यता थियो’ उहाँले भन्नुभयो ‘अहिले त्यो समस्या हटेको छ ।’

वडा कार्यालयको चालु आर्थिक बर्षको रु. ७५ हजार बजेटबाट सोलार सँगै बिभिन्न मूर्तीहरु पनि स्थापना गरिएको हो । ‘गुफामा प्राकृतिक रुपमा बनेका देवीदेवताका बिभिन्न मूर्ती तथा आकृतिहरु रहेका छन्, यसलाई थप आक्रर्षक बनाउन हामीले मूर्ती स्थापना गरेका छौँ’ अध्यक्ष पुनले भन्नुभयो ।

गुफा भित्र ढुंगे मादल, चमेरा, देवीदेवताका आकृतिहरु रहेका छन् भने चाँदी जस्तै टल्कने ढुंगाहरु पनि रहेका छन् । वडाअध्यक्ष लिलाधर घर्तीले प्राकृतिक तथा साँस्कृतिक सम्पदाले भरीपूर्ण यस गुफाको संरक्षण र प्रचारप्रसारको लागी वडा कार्यालयले सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले गुफा नजिक सम्म पुग्नलाई स्तरीय सडक, बिद्युत्त, खानेपानी, मन्दिर निर्माण लगाएतका विकासका लागी आफुले सक्दो पहल गर्ने बताउनुभएको हो ।

यस गुफा सँगै यहाँ सिद्ध बाबाको मन्दिर, ढकढके ढुंगा, ढुंगेपानी, नाग ढुंगा लगाएतका पर्यटकिय स्थानहरु रहेका छन् । पछिल्लो समय चाँदनी साततले गुफा पर्यटकहरुको रोजाई बन्दै गएको छ । साथै यस गुफाको संरक्षण सँगै प्रचारप्रसार गर्न सरोकारवाला निकायहरुले पहल गर्नुपर्ने स्थानियको माग छ ।

प्रतिक्रिया दिनुहोस