सल्यानमा पनि सलह किरा फैलिएपछि किसान चिन्तित


सल्यान १७, आषाढ ।
भारत हुँदै नेपाल पसेको सलह किरा सल्यानमा पनि देखिएको छ । जिल्लाका दश स्थानिय तह मध्ये अहिले सम्म सात वटा स्थानिय तहमा सलह किरा देखिएको हो । अहिले बन्गाड कुपिण्डे नगरपालिका, दार्मा गाउपालिका र कुमाख गाउपालिकाबाट सलह देखिएको बारेमा जानकारी नआएको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

प्रदेश नम्वर ५ वाट सल्यान प्रवेश गरेको यस सलह किराको ठूलो मात्रामा झुण्ड भने देखिएको छैन् । कपुरकोट, छत्रेश्वरीको झिम्पे र सिद्ध कुमाख गाउपालिकाको ३ नम्वर वडामा अलि बढी मात्रामा सलह देखिएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । उहाँले सानो सानो झुण्डमा सलह किरा देखिएकाले आत्तिनुपर्ने अबस्था नरहेको बताउनुभयो ।

‘सानो झुण्डमा सलह किरा भएकाले यसलाई नियन्त्रण गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘अहिले नै आत्तिनुपर्ने अवस्था भने छैन तर सचेत भने बन्न आवश्यक छ ।’ उहाँले थाली र ड्रम बजाएर वा धुवाँ वनाएर पनि सलह भगाउन सकिने बताउनुभएको छ । दिउसोँमा मात्रै सलह किरा सक्रिय हुने भएकाले यसलाई नियन्त्रण गर्न केही सजिलो हुन्छ ।

उहाँले जिल्लामा अहिले सम्म सलहले क्षती नगरेको बताउनुभएको छ । ‘कपुरकोट, छत्रेश्वरी र सिद्ध कुमाखका केही भागमा अली बढी मात्रामा सलह भेटिएको छ, अहिले सम्म क्षती गरेको छैन्, तर क्षती गर्न सक्ने सम्भावना भएकाले यसलाई भगाउन वा नियन्त्रण गर्न नागरिकहरुलाई आग्रह गरेका छौँ’ उहाँले भन्नुभयो । थप सलह जिल्लामा प्रवेश गरेन भने यो बिस्तारै नियन्त्रणमा आउने र क्षती पनि नगर्ने उहाँको भनाई छ ।

फेद कटुवा किरा र फौजी किराको प्रकोप झेलिरहेका जिल्लाका विभिन्न ठाउँका किसानहरू सलह किरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् । मूख्य खाद्यान्न वालीका रुपमा लगाएको मकैँमा सलह किरा देखेपछि चिन्ता थपिएको शारदा नगरपालिकाका स्थानिय शालिकराम बुढाथोकीले बताउनुभयो ।

फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार सलह किरा देखिएको हो । सलहले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुणा बढी क्षति पुर्याउने जानकारहरु बताउँछन् । सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ ।

प्रतिक्रिया दिनुहोस