सल्यानमा यस बर्ष सिंचाइ र कृषि सडक निर्माण ७ करोड खर्च

सल्यान २२, आषाढ ।
तरकारी तथा फलफूल र खाद्यान्न उत्पादनमा अब्बल मानिएको सल्यानमा कृषि संरचना निर्माणका कार्यहरु धमाधम रुपमा गरिएको छ । जिल्लाका दश वटै स्थानिय तहहरुमा कृषिजन्य बस्तुको उत्पादनमा बृद्धि तथा सहज रुपमा वजार सम्म पठाउनको लागी कृषि संरचना निर्माणको कार्य धमाधम गरिएको हो । विगतका बर्ष जस्तै यस बर्ष पनि जिल्लामा सिंचाइ कुलो र कृषि सडक निर्माणमा रु. ७ करोड खर्च भएको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

चालु आर्थिक बर्षमा जिल्लामा सिँचाई र कृषि सडक निर्माणमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु. ७ करोड ५ लाख खर्च भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिनुभएको छ । जसबाट जिल्लाका दश वटै स्थानिय तहमा गरेर २५ वटा साना तथा मझौला सिँचाई कुलो र २४ वटा कृषि सडक निर्माण गरिएको छ । साना तथा मझौला सिँचाई कुलो निर्माणमा रु.४ करोड १५ लाख र कृषि सडक निर्माणमा रु.२ करोड ९० लाख रुपैँया खर्च भएको उहाँको भनाई छ ।

त्रिबेणी गाउपालिकामा पर्ने लंके काँरेबास सिंचाई योजनाको काम भने हुन् नसकेको उहाँले बताउनुभएको छ । जिल्लाका बस्तीहरुमा स्थानियले उत्पादन गरेको कृषिजन्य बस्तुको सहज रुपमा वजार सम्म पठाउन कृषि सडक र कृषिजन्य बस्तुको उत्पादनमा बृद्धि गर्न सिंचाई कुलो निर्माण गरिएको उहाँको भनाई छ ।

उहाँका अनुसार सिँचाई तर्फ छत्रेश्वरी गाउपालिकामा ४ वटा योजनामा ६५ लाख, कालीमाटी गाउपालिकामा ४ वटामा ५५ लाख, त्रिबेणी गाउपालिकामा २ वटा योजनामा २५ लाख रुपैँया खर्च भएको छ । यस्तै बन्गाड कुपिण्डे नगरपालिकामा २ वटा योजनामा ६० लाख, दार्मा गाउपालिकामा २ वटामा ५० लाख, कुमाख गाउपालिकामा २ वटामा ३० लाख, सिद्धकुमाख गाउपालिकामा १ वटामा २० लाख, बागचौर नगरपालिकामा २ वटामा ३० लाख, शारदा नगरपालिकामा ३ वटामा ४० लाख र कपुरकोट गाउपालिकामा ३ वटा योजनामा ४० लाख रुपैँया खर्च भएको हो ।

यस्तै जिल्लामा २४ वटा कृषि सडक निर्माण भएका छन् । जसमा छत्रेश्वरी गाउपालिकामा ४ वटा कृषि सडकमा ४० लाख, त्रिबेणी गाउपालिकामा २ वटामा २० लाख, कालीमाटी गाउपालिकामा एक वटामा १० लाख, बन्गाड कुपिण्डे नगरपालिकामा ३ वटामा ४० लाख र दार्मा गाउपालिकामा २ वटामा ४५ लाख रुपैँया खर्च भएको छ । यस्तै कुमाख गाउपालिकामा एक वटा योजनामा १० लाख, बागचौर नगरपालिकामा ४ वटामा ४० लाख, शारदा नगरपालिकामा ४ वटामा ४० लाख र कपुरकोट गाउपालिकामा ३ वटा कृषि सडक निर्माणमा ३० लाख रुपैँया खर्च भएको छ ।

सिँचाई तथा सडक निर्माणमा कुल वजेटको १० प्रतिशत सम्बन्धित लाभग्राही क्षेत्रमा खर्च गनुपर्ने प्राबधान अनुसार स्थानियको मागको आधारमा विउविजन तथा कृषिजन्य औजार उपकरणहरु खरिद गरेर वितरण गरिएको कार्यालयको भनाई छ । जिल्लामा गत आर्थिक बर्षमा कृषि सडक निर्माणको लागी ३ करोड ४७ लाख ७८ हजार रुपैँया खर्च गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस