सल्यान २३, आषाढ ।
दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्र्तगत आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैँ छ । ६ महिना देखि ५९ महिनासम्मका वालबालिकाहरुलाई भिटामिन ए र १२ महिना देखि ५९ महिनासम्मका वालवालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम अन्र्तगत सोमवार छुटेका बालबालिकाहरुलाई आज मंगलवार खुवाइदैँ छ ।
प्रत्येक आर्थिक वर्षमा २ चरणमा सञ्चालन हुने अभियान यस बर्ष पहिलो चरण कार्तिक महिनामा नियमित मितीमा सम्पन्न भएपनि दोश्रो चरण बैशाख ५ र ६ गते हुनुपर्नेमा कोरोना भाइरसको कारण असारमा सञ्चालन गरिएको हो । यस पटक सल्यानका २३ हजार बढी बालबालिकाहरुलाई भिटामिन ए खुवाउन थालिएको छ । यस्तै १५ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका सिअहेब तारा प्रसाद रिजालका अनुसार भिटामिन ए र जुकाका औषधी खुवाउने कार्यमा जिल्लाभरका ४ सय बढी महिला स्वास्थ्य स्वयम्सेविका र ३ सय बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । कोरोनाले बिश्व नै आक्रान्त वनेको अहिलेको अबस्थामा आबश्यक सुरक्षा सर्तकता अपनाएर भिटामिन ए र जुकाका औषधी खुवाउन शुरु गरिएको छ । यस अभियानलाई सफल वनाउन सुआहारा कार्यक्रम सल्यानले पनि सहयोग गरेको छ ।