सल्यान २५, आषाढ ।
सल्यानमा अपरिचित किराले मकैँ सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको सिद्ध कुमाख गाउपालिका वडा नम्वर २ चाख्लीघाट, दारिमचौर आसपासको क्षेत्रमा अपरिचित किराले मकैँको गुभो खाएर सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
अहिले गोडमेल गरेको मकैँमा हरियो रंगको किराले मकैँको गुभो खाएर सखाप पार्न थालेपछि समस्या भएको स्थानिय कृष्ण बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दारिमचौरका १२ घरधुरी र त्यस आसपासका क्षेत्रहरुमा पनि लगाएतको मकैँको गुभो किराले खाएर सखाप पारेको छ ।
‘केहीले यो किरा अमेरिकन फौजी किरा भन्छन्, तर यसको खास नाम थाहा भएन’ उहाँले भन्नुभयो ‘बिषादी छर्किदा पनि किरालाई नियन्त्रण गर्न सकिएन् ।’ स्थानियहरुले किरालाई छोप्दै चारोको रुपमा कुखुरालाई खुवाउन थालेको उहाँको भनाई छ । यस किराको समयमा नै पहिचान गरी नियन्त्रणमा ध्यान दिन स्थानियले माग गरेका छन् ।