सल्यान २७, आषाढ ।
सल्यानमा नै पहिलो पटक बालबालिकाहरुलाई झाडापखाला बिरुद्धको रोटा खोप शुरु गरिने भएको छ । आउदोँ साउन महिनाको पहिलो साता देखी नै जिल्ला भरिका करिव ६ हजार बालबालिकाहरुलाई रोटा खोप शुरु गरिने भएको हो । बच्चा जन्मेको ६ हप्तामा पहिलो मात्रा र १० हप्तामा दोस्रो मात्रा गरी दुइ पटक खोप दिन लागिएको हो ।
जसको लागी अहिले जिल्लाभर तयारी भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लास्तरमा सबै पालिकाहरुको सहभागितामा यसबारेमा समन्वयात्मक छलफल तथा अभिमुखिकरण गरिएको छ भने सबै स्थानिय तहमा रहेका स्वास्थ्य शाखाहरुले पनि पालिकास्तरमा अभिमुखिकरणको कार्य गरिरहेका छन् ।
बालबालिकाहरुमा झाडापखाला बिरुद्ध लड्न सक्ने क्षमताको बृद्धि गर्न रोटा खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये रोटा भाइरस एक हो । उहाँले निरोगी र सक्षम व्यक्ति बनाउन गर्भ देखी नै खोप अभियानमा ध्यान दिनुपर्ने बताउनुभएकोे छ । विभिन्न रोग बिरुद्ध लगाईने खोपलाई अनिवार्य बनाउन सके मात्रै बालबालिका निरोगी र सक्षम नागरिक बन्ने उहाँको भनाई छ ।
उहाँले खोपकै भरमा रोगसँग लड्न सक्ने क्षमताको विकास हुने भन्दै अभिभाबक र स्वास्थ्यकर्मीको समान दायित्व हुने भएको छ । ‘नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइनेछ’ उहाँले भन्नुभयो ‘यो खोप बच्चाहरूलाई मुखबाट दिइन्छ । जिल्लामा यसलाई सफल बनाउन तयारी भैरहेको छ, साउन देखी रोटा खोप शुरु हुन्छ ।’ केन्द्रिय तथ्यांक अनुसार हरेक वर्ष ५ वर्ष मुनीका करिब १२ लाख बालबालिका झाडापखालाबाट प्रभावित हुने गरेका छन् ।
यसमध्ये ४ लाख रोटा भाइरसकै कारणले प्रभावित हुने गर्दछन् । रोटा भाइरसले बालबालिकाको आन्द्रामा संक्रमण गराएर पखाला र वान्ता हुँदा जलवियोजन भएर बालबालिकाको मृत्यु हुने गरेको पाइन्छ । रोटा भाइरस विरुद्धको खोप लगाएपछि यसबाट हुने मृत्यूदरमा कमी आउने सरकारी लक्ष्य रहेको छ ।