पर्यटनको अर्को गन्तब्य : ‘हिमदर्शन पार्क रानीकोट’

सल्यान २८, आषाढ ।
सल्यानको शारदा नगरपालिका वडा नम्वर ५ रानिकोटमा रहेको हिमदर्शन पार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । खुल्ला आकासमा बनेको पार्क पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्न थालेको हो । यस पार्कमा घुम्न तथा अवलोकनका लागी आउने पर्यटकहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको छ ।

खुला आकाश मुनी रमणिय ठाँउमा पर्यटकको संख्या बढ्न थालेपछि यहाँ पर्यटक आर्कषणका लागी बिभिन्न संरचना निर्माण गर्नथालिएको छ । यस बर्ष मात्रै ३ लाख ५० हजारको लागतमा बिभिन्न संरचना निर्माण गरिएको वडाअध्यक्ष प्रदिप शाहीले जानकारी दिनुभयो । शनिवार र बिदाको दिनमा यस पार्क घुम्न आउनेहरुको संख्या धेरै हुने गरेको उहाँको भनाई छ ।

अहिले शनिवार र बिदाको दिनमा दैनिक एक सयको हाराहारीमा पर्यटकहरु आउने गरेको उहाँले जानकारी दिनुभयो । यसैबिच यस हिमदर्शन पार्कमा अबदेखी प्रवेश शुल्क लाग्ने भएको छ । ‘हाल निःशुल्क रुपमा प्रवेश दिदैँ आएको यस पार्कमा अव देखी शुल्क लाग्ने छ, मूल्य निर्धारणको लागी नगरपालिकामा सिफारिस गरेका छौँ’ उहाँले भन्नुभयो ।

पार्कको ब्यवस्थापन लगाएतका काम गर्न यहाँ आउने पर्यटकहरुवाट सामान्य सेवा शुल्क उठाउने उहाँको भनाई छ । जसअनुसार जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि कुनै शुल्क लाग्ने छैन भने बालवालिकाहरुलाइ निश्चित गरिएको शुल्कको आधा प्रवेश शुल्क लाग्नेछ ।

यसैबिच शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले पार्कमा निर्माण गरिएका बिभिन्न संरचनाहरुको आइतवार उद्घाटन गर्नुभएको छ । पार्क भित्र राखिएका विभिन्न विश्राम सामग्रीहरुको उद्घाटन गर्दै उहाँले हिमदर्शन पार्कलाई पर्यटकिय गन्तब्य वनाउनको लागी नगरपालिका प्रयासरत रहेको बताउनुभएको छ । यसको प्रचारप्रसार र आबश्यक संरचना निर्माणमा नगरपालिकाले बिशेष ध्यान दिने उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस