सल्यानमा चिस्यान केन्द्र निर्माणका लागी आएको रु. ५० लाख फ्रिज !

चिस्यान केन्द्र नहुँदा कृषि सामग्री वर्षेनी कम मूल्यमा बेच्न जिल्लाका किसानहरु बाध्य


सल्यान ५, साउन ।
सल्यानमा चिस्यान केन्द्र निर्माणका लागी आएको वजेट फ्रिज भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा भूमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले जिल्लामा चिस्यान केन्द्र निर्माणका लागी पठाएको वजेट कार्यान्वयन हुन नसकेर फ्रिज भएको हो । जसका लागी रु. ५० लाख विनियोजन भएको थियो ।
डिपिआर बिना नै वजेट विनियोजन भएकाले कार्यान्वयमा समस्या भएको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । कार्यालय प्रमुख महेश आचार्यले थोरै वजेट र डिपिआर लगाएतका कार्य बिना नै वजेट विनियोजन भएकाले कार्यान्वयन गर्न नसकिएको बताउनुभएको छ ।

‘सल्यानमा अदुवा, सुन्तला, आलु लगाएतको तरकारी, वीउवीजन राम्रो उत्पादन हुन्छ, यसको स्तरीय वजारीकरणको लागी जिल्लामा चिस्यान केन्द्रको आबश्यकता हो’ उहाँले भन्नुभयो ‘तर बिभिन्न परिस्थितीले गर्दा चिस्यान केन्द्र निर्माणको लागी कामको थालनी गर्न सकेनौँ ।’ जिल्लामा चिस्यान केन्द्र निर्माणका लागी न्यूनतम् २ करोड बढी खर्च हुने अनुमान छ ।

‘चिस्यान केन्द्र निर्माण भनेर वजेट विनियोजन भएर आयो, तर न त डिपिआर भएको छ, न त ठाँउ तोकेको छ, न त हामी सँग यो सम्बन्धी बिज्ञ टोली नै छ ? यसले गर्दा कार्यान्वयनमा समस्या भएको हो’ उहाँले थप्नुभयो । उहाँले चिस्यान केन्द्र निर्माणको शिर्षकमा विनियोजन भएको वजेटबाट यस बर्ष डिपिआरको काम गर्ने र अर्को बर्ष निर्माणको काम अगाडी बढाउने सोच बनाए पनि कानुनी जटिलताका समस्या भएको बताउनुभएको छ ।

कृषकले आफुले उत्पादन गरेका मौसमी तथा बेमौसमी फलफूल र तरकारीहरु सुरक्षित भण्डारण गर्न चिस्यान केन्द्र बनाउन माग गर्दै आएका छन् । तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन हुने तरकारी, फलफूल लगायतका कृषि उत्पादनलाई व्यवस्थित रुपमा चिस्यान केन्द्रमा भण्डारण गरी बेमौसमी सिजनमा बिक्री गर्ने योजनाका साथ चिस्यान केन्द्र निर्माण गरिन्छ ।

जिल्लाका किसानले सुन्तला, अदुवा, आलु, बेसार, तरकारी अत्याधिक उत्पादन गर्ने गरेका छन् । चिस्यान केन्द्रको अभावमा उत्पादित कृषि सामग्री वर्षेनी कम मूल्यमा बेच्न किसान बाध्य छन् । बर्षेनी माल्नेटाको अदुवा, कोटमौलाको सुन्तला, बाफुखोलाको आलु लगाएत फलफूल तथा तरकारी र बीउ गरेर जिल्लाबाट करोडौँको बस्तु निर्यात हुदैँ आएको छ ।

बिगत देखी नै जिल्लामा चिस्यान केन्द्र स्थापनाका लागी पहल गर्दै आएपनि सफल नभएको उद्योग बाणिज्य संघ सल्यानले जनाएको छ । चिस्यान केन्द्रको अभावले किसानले उत्पादन गरेको बस्तुले वजार मूल्य राम्रो पाउन नसकेको अध्यक्ष बीर बहादुर चलाउनेले बताउनुभएको छ ।

यस बर्ष चिस्यान केन्द्रका लागी कृषि बिकास कार्यालयमा प्रस्तावना पेश गरे पनि कोरोनाका कारण जारी लकडाउन लगाएतका बिबिध कारणले सफल हुन नसकेको उहाँको भनाई छ । ‘शारदा नगरपालिका १२ रेशमज्यूलामा चिस्यान केन्द्र बनाउने तयारीमा थियौँ’ उहाँले भन्नुभयो ।

जिल्लामा करिब ५ हजार टन क्षमताको मल्टी प्रपोज खालको चिस्यान केन्द्र आबश्यक रहेको सरोकारवालाहरुको दावी छ । चिस्यान केन्द्र निर्माणका लागी करोडौँ लगानी गर्नुपर्ने भएकाले बहुबर्षिय आयोजना मार्फत काम सुचारु गर्न किसानको माग छ ।

प्रतिक्रिया दिनुहोस