सल्यानमा ९५ प्रतिशत धान रोपाई

पाँच प्रतिशतमा रोपाई गर्न बाँकी

सल्यान ६, साउन ।
सल्यानमा ९५ प्रतिशत धान रोपाई सकिएको छ । यस बर्ष समयमा नै लगातार वर्षात भएको र खोलाहरको पानीको सहत बढेकाले जिल्लामा ९५ प्रतिशत धान रोपाई सकिएको हो । धान खेतीको लागी राम्रो सम्भाबना भएको यस जिल्लामा अब ५ प्रतिशत मात्रै धान रोप्न बाँकी रहेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

सिंचाई सुबिधा भएकोमा असारको पहिलो साता सम्म लगभग धान रोपाई सकिएको थियो भने बाँकी क्षेत्रमा पनि समयमा नै पानी परेकाले यस बर्ष अहिले सम्म ९५ प्रतिशत धान रोपाई भएको कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । ‘जिल्लामा यस बर्ष अहिले सम्म करिब ९५ प्रतिशत रोपाई भएको छ बाँकीमा पनि रोपाई कार्य जारी छ’ उहाँले भन्नुभयो ।

उहाँले अबको केही दिनमा नै जिल्लाभर धान रोपेर सकिने बताउनुभयो । किसानहरुले समयमै धान खेती गरेकाले गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा वृद्धि आउने अनुमान गरिएको बस्नेतले बताउनुभयो । जिल्लाका किसानहरुले बढी मात्रामा रामधान, सुख्खा ३, सुख्खा १, कञ्चन लगाएतका जातको धान रोप्दै आएका छन् ।

धानको गोडमेल गर्न, पानीको आबश्यकता हेरेर सिँचाई गर्न, धान फुल्ने तथा फल लाग्ने समयमा किराहरु बढी मात्रामा लाग्ने भएकाले सजकता अपनाउन किसानहरुलाई कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस