सल्यानमा बैशाखयता बिपदमा परी ४ जनाको मृत्यू, ६ घाइते

बिपद् रोकथामका लागी तयारी अबस्थामा छौँ : सिडिओ पोखरेल

 


सल्यान ११, साउन ।
सल्यानमा प्राकृतिक बिपद्मा परेर अहिलेसम्म ४ जनाको मृत्यू भएको छ । जिल्लाभर बिभिन्न प्राकृतिक बिपद्मा परेर बैशाख १ गते देखी हाल सम्म ४ जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नयाँ बर्षको शुरुवात सँगै पहिरो, चट्याङ लगाएतका बिपद्मा परेर उनीहरुको मृत्यू भएको प्रहरीको भनाई छ ।

सल्यान प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले जिल्लामा प्राकृतिक बिपद्को ठूलो जोखिम नभएपनि फाटफूट मात्रामा भएका घटनामा परेर उनीहरुले ज्यान गुमाएको बताउनुभएको छ । जिल्लामा बाढीको जोखिम कम भएपनि चट्याङ र पहिरो लगाएतका कारणले मानिसहरुले अकालमा नै ज्यान गुमाउनु परेको उहाँको भनाई छ ।

यस्तै यस अबधिमा प्राकृतिक बिपद्का कारण ३ वटा घरमा क्षती भएको छ । यस्तै प्राकृतिक बिपद्मा परेर ३ वटा पशुचौपाय समेत मरेका छन् । ‘अहिले सम्म जिल्लाभरको तथ्यांक हेर्दा प्राकृतिक बिप्दका घटनामा परेर जनधनको क्षती समेत भएको छ, यस अबधिमा करिब २ लाख बढीको जिल्लामा क्षती भएको छ’ उहाँले भन्नुभयो ।

बिपद् रोकथामका लागी तयारी अबस्थामा छौँ : सिडिओ पोखरेल
जिल्लामा प्राकृतिक बिपद्का घटना हुन नदिन रोकथामका लागी तयारी थालिएको छ । मनसुन शुरु हुनुभन्दा अगाडी नै जिल्ला बिपद् ब्यबस्थापन समितीको बैठक बसेर बिपद्का सम्भावित घटना हुन नदिन सचेतनाका अभियान सञ्चालन गर्ने तथा यदी भैहालेमा उद्धार तथा ब्यबस्थापन लगाएतका कार्यलाई छिटो, छरितो गर्ने भनेर निर्णय भएको थियो ।

सोही अनुसार अहिले जिल्लामा त्यस्ता खालका घटना हुन नदिन सचेतनामुलक अभियान सञ्चालन गरिनुका साथै सबै निकायलाई तयारी अबस्थामा राखिएको जिल्ला बिपद् ब्यबस्थापन समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । उहाँले स्थानिय स्तरमा उपलब्ध सामाग्रीको प्रयोग गरेर उद्धार तथा ब्यबस्थापनको कार्य सञ्चालन गर्ने गरी तयारी भएको बताउनुभएको छ ।

बिगतलाई हेर्दा जिल्लामा ठूलो मात्रामा प्राकृतिक बिपद्का घटनाहरु हुने सम्भावना कम रहेको उहाँको भनाई छ । ‘जिल्लाको कालीमाटी क्षेत्रको तल्लो भागमा बाढीको केही जोखिम छ, त्यस बाहेक जिल्लामा बाढी र पहिरोको खासै जोखिम छैन्, खहरे, साना खोला आसपास र जोखिम मानिएका क्षेत्रहरुमा सजकता अपनाउन स्थानिय नागरिकलाई आग्रह गरेका छौँ’ उहाँले भन्नुभयो ।

उहाँले जिल्लामा यदी कुनै बिपद्का घटना भैहालेमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तयारी अबस्थामा राखिएको बताउनुभयो । यस्तै स्थानिय तह, रेडक्रस सोशाइटी लगाएतकालाई पनि तयारी अबस्थामा रहन सुझाव दिइएको उहाँको भनाई छ ।

जिल्लाको कपुरकोट, निगालचुला, बाफुखोला, शिवरथ लगाएतका क्षेत्रहरुमा पहिरो तथा खहरेको जोखिम मानिन्छ । बाढी, पहिरो लगाएतका प्राकृति बिपद् रोकथामका लागी बृक्षारोपण गर्ने, खोला किनारमा तटबन्ध निर्माण गर्ने लगाएतका कार्यहरु गरिरहेको स्थानिय तहहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस