सल्यानका ९६ प्रतिशत कोरोना संक्रमित निको भए

शुक्रवार थप १५ जना डिस्चार्ज

सल्यान १६, साउन ।
सल्यानका थप १५ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लाका २ वटा आइसोलेसनमा उपचाररत शुक्रवार १५ जना संक्रमित निको भएर घर फर्किएका हुन् । यससँगै जिल्लामा ९६ प्रतिशत संक्रमित निको भएका छन् । जसमा कुमाख गाउपालिकाका १ जना महिला सहित ६ जना रहेका छन् ।

यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका ३ जना, बागचौर नगरपालिकाका २ जना, शारदा नगरपालिकाका २ जना, कालीमाटी गाउपालिकाका १ जना र दार्मा गाउपालिकाका १ जना रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यससँगै जिल्लामा कोरोनालाई जितेर घर फर्किनेको संख्या २ सय ४० पुगेको छ ।

जिल्लामा हाल सम्म २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी ८ जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार बन्गाड कुपिण्डे नगरपालिकाका ४ जना, कालीमाटी गाउपालिकाका २ जना र कुमाख गाउपालिकाका २ जना कोरोना संक्रमित आइसोलेसनमा राखिएको छ । उनीहरु मध्ये ५ जना लुहापिङ आइसोलेसनमा र ३ जना बन्गाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा रहेका छन् ।


सात स्थानिय तह संक्रमणमुक्त
जिल्लाका सात वटा स्थानिय तह कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाका दश वटै स्थानिय तहमा कोरोना संक्रमण देखिएको थियो । ती मध्ये अहिलेसम्म सात वटा स्थानिय तहका कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने बाँकी तीन स्थानिय तहमा मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

मास्कको प्रयोग गर्न, भिडभाडमा नजान, बेला बेलामा साबुन पानीले हात धुन तथा स्वासप्रश्वास सम्बन्धि कुनै समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित