बागचौर बृहत लिफ्ट खानेपानी आयोजनाको काम पचास प्रतिशत पुरा !

सल्यान १८, साउन ।
सल्यानको बागचौर नगरपालिकामा निर्माणाधिन बृहत खानेपानी आयोजनाको काम पचास प्रतिशत पुरा भएको छ । स्थानियलाई खानेपानीको समस्या भएपछि एक घर एक धाराको लक्ष्य अनुरुप बागचौर नगरपालिका २ मा खानेपानी आयोजनाको काम सुचारु गरिएको हो । स्थानिय जंगार खोलाबाट लिफ्ट गरेर शुद्ध खानेपानीको पहुँचमा आम नागरिकलाई पु¥याउने उद्धेश्यले खानेपानी आयोजनाको काम थालिएको हो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनितीक सल्लाहकार भिमप्रकाश शर्माको पहलमा बागचौर लिफ्ट खानेपानी आयोजना अगाडि बढेको हो । अहिले खानेपानी आयोजना निर्माणको काम धमाधम रुपमा भैरहेको लिफ्ट खानेपानी निर्माण उपभोक्ता समितीका अध्यक्ष ज्ञानेश्वर केसीले जानकारी दिनुभयो ।


यस आयोजनाबाट बागचौर बजार, जिउँला, मिलन डाँडा र थारमारेका गरेर करिब ४ सय घरधुरीले शुद्ध खानेपानी खान पाउने उहाँको भनाई छ । निर्माणाधीन खानेपानी आयोजनाको अहिले ५० प्रतिशत काम सम्पन्न गरिएको छ भने बाकी काम यहीँ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।


करिव ३ करोड २६ लाखको लागतमा सञ्चालित यस आयोजनाको खानेपानी ट्याङ्कीको चारैतीर शनीवार फूल सहितका बिभिन्न प्रजातीका बिरुवा रोपेर समेत उद्धाटन गरिएको छ । अध्यक्ष केसी, बागचौर नगरपालिका वडा नम्वर २ का वडाअध्यक्ष टोपबहादुर डिसी, वडा सदस्य चन्द्र बहादुर वली सहित आमउपभोक्ताहरुको सहभगितामा निर्माणाधीन खानेपानी ट्याङ्कीमा चारैतीर फूल सहित बिभिन्न प्रजातीका बिरुवाहरु रोपेर उद्घाटन गरिएको हो ।
‘एक घर एक धाराः शुद्ध खानेपानी बागचौर आयोजनाको अभिभारा’ भन्ने नाराका साथ खानेपानी आयोजनाको काम धमाधम रुपमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस