सल्यान जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै

'मौषमी फ्लूको जोखिम भएकाले खानपिनमा ध्यानदिन स्वास्थ्यकर्मीको सुझाव'

सल्यान १९, साउन ।
सल्यान जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी गरेको लकडाउन हटाएसँगै जिल्ला अस्पतालमा उपचारका लागी आउने बिरामीको संख्या बढेको हो । लकडाउनको अबधिमा सवारीसाधन नचलेकाले प्रसुती र आकस्मिक सेवा लिनको लागी मात्र सेवाग्राही आउने गर्दथेँ ।

तर लकडाउन खुले यता अस्पतालमा सेवा लिन आउनेहरुको संख्या दिनानुदिन बढ्दै गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । लकडाउनको अबधिमा दैनिक रुपमा फाटफुट मात्रामा ओपिडिमा बिरामीहरु आउने गरेको भएपनि लकडाउन खुलेयता दैनिक ८० देखी १०० जना सम्म बिरामीहरु आउने गरेको डा. भिमकान्त जैसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सल्यान जिल्ला अस्पताले प्रदान गर्ने सेवालाई स्तरीय र छिटो छरितो तथा थप सेवाहरु पनि प्रवाह गरिरहेकाले बिरामीको चाप बढेको छ । अहिले बिभिन्न स्वास्थ्य समस्या लिएर अस्पतालमा बिरामीहरु आउने गरेको उहाँको भनाई छ । स्तरीय प्रसुति सेवा, अप्रेशन सेवा, दन्त सेवा, परामर्श सेवा लगाएतका सेवाहरु प्रवाह भैरहेका छन् ।

डा. जैसीले विगतको बर्षमा जस्तो यस बर्ष अहिलेको मौसममा मौसमी फ्लू तथा झाडापखालाका बिरामीहरु भने नभएको बताउनुभएको छ । ‘बिगतका बर्षहरुमा यस समयमा दिनहुँ दर्जन बढी रुघाखोकी र झाडापखालाका बिरामीहरु उपचारको लागी आउने गरेका थिए, यस बर्ष एकदमै न्यून मात्रामा त्यस्ता खालका बिरामीहर आउने गरेका छन्’ उहाँले भन्नुभयो ‘मौसमी फ्लू सरुवा रोग भएपनि नागरिकले कोरोनाबाट बच्न सजकता अपनाएकाले यस बर्ष त्यस्तो समस्या बिरलै मात्रामा देखिएको छ ।’

उहाँले खानपिनका कारण सरुवा रोगको संक्रमण बढी हुने भएकाले सजकता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको छ । सावुन पानीले नियमित हात धुन, खानेकुराहरु राम्ररी पकाएर मात्रै खान, काँचै खानेकुराहर पनि राम्ररी धोएर खान, बासी सडेगलेका झिंगा भंकेका खानेकुरा नखान, नियमित सरसरफाई गर्न, घरआँगन सफा गर्न उहाँको सुझाव रहेको छ । साथै स्वास्थ्यमा कुनै समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मी सम्पर्क गर्न सल्यान जिल्ला अस्पतालले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित