सल्यान जिल्ला अस्पतालमा १४ बर्ष पुरानो एम्बुलेन्स :‘सेवा भन्दा सास्ती धेरै’

 


सल्यान २१, साउन ।
सल्यान जिल्ला अस्पतालमा नयाँ एम्बुलेन्स नहुदाँ समस्या भएको छ । दैनिक बिरामीहरुको चाप हुने जिल्ला अस्पतालमा भरपर्दो एम्बुलेन्स नहुदाँ नागरिकलाई सास्ती हुने गरेको छ । अस्पतालमा नै भरपर्दो एम्बुलेन्स नहुदाँ नागरिकहरुले महगों शुल्क तिरेर अन्य एम्बुलेन्स तथा निजी सवारीसाधन रिजर्व गर्न बाध्य भएका छन् ।

१५ शैयाको अस्पतालले बिरामीको चाप बढेपछि ३५ शैया बनाएर सेवा प्रवाह गरिरहेको छ । तर ३५ शैया पनि कम भएकाले ५० शैयाको बनाउनुपर्ने अस्पतात स्रोतले जनाएको छ । तर जिल्ला अस्पतालको नै १४ बर्ष पुरानो एम्बुलेन्सले नागरिकलाई सेवा भन्दा सास्ती बढी हुने गरेको छ ।

बिगत एक महिना देखी एम्बुलेन्स ग्यारेजमा थन्किएको छ । एम्बुलेन्स मर्मत गर्दा खर्च धेरै लाग्ने तर पुरानो भएकाले मर्मत गरेको धेरै समय सम्म नचल्ने गरेको एम्बुलेन्स चालकको भनाई छ । बिगत केही बर्ष देखी जिल्ला अस्पतालको एम्बुलेन्स मर्मत गर्दै चलाउदैँ गर्ने क्रम चल्दै आएको छ । एकै पटकमा एम्बुलेन्स मर्मत गर्दा लाखौँ रुपैँया खर्च लाग्ने तर महिना दिन पनि सञ्चालन नहुने भएपछि समस्या भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक दशरथ कुमार श्रेष्ठले जिल्ला अस्पतालमा १४ बर्ष पुरानो एम्बुलेन्सले गर्दा समस्या भएको बताउनुभएको छ । ‘अस्पतालमा एउटा नयाँ एम्बुलेन्स हुनुपर्ने हो, तर पुरानो एम्बुलेन्सले गर्दा समस्या भएको छ, त्यसको मर्मतमा पनि लाखौँ रुपैँया सकिन्छ तर दिगो रुपमा टिकाउ हुदैँन’ उहाँले भन्नुभयो ।


जिल्ला अस्पतालमा नै एम्बुलेन्स सञ्चालन नहुँदा बिरामीलाई अस्पतालबाट अनेत्र रिफर गर्न तथा घरसम्म पु¥याउन समस्या हुने गरेको उहाको भनाई छ । बिरामीलाई जिल्ला अस्पताल सँगै सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन समस्या हुने गरेको नागरिकको दुखेसो छ ।

उहाले नयाँ एम्बुलेन्स खरिदको लागी पहल थालिएको जानकारी दिनुभयो । ‘हामीसँग एम्बुलेन्स खरिदको लागी वजेट छैन्, तर पहल थालेका छौँ’ उहाँले भन्नुभयो । उहाले नयाँ एम्बुलेन्सको लागी प्रदेश सरकार तथा केन्द्र सरकारसँग माग गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । सल्यान जिल्ला अस्पतालमा उपचारको लागी सल्यान सहित रुकुम र रोल्पाका नागरिकहरु समेत आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस