सल्यान २५, साउन ।
सल्यानमा मास्क नलगाई बाहिर हिड्ने झण्डै १५ सय नागरिकलाई कारवाही गरिएको छ । मास्क लगाउन गरिएको आग्रहलाई अवेज्ञा गर्ने १ सय ४ सय ७९ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि संक्रमणको जोखिम बढ्ने भन्दै प्रहरी प्रशासनले मास्क अनिवार्य गरेको छ ।
जसअनुसार मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना गर्दै आएको छ । गत असार २७ गतेदेखि हालसम्म मास्क नलगाई बाहिर निस्किएकाहरुलाई कारवाही गर्दा १ लाख ४७ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । मास्क नलगाई बाहिर निस्किएकालाई कारवाही सहित निःशुल्क मास्क दिने गरेको खतिवडाको भनाई छ ।
यसैबिच शनिवार मात्रै मास्क नलगाए हिड्ने जिल्लाभर २३ जनालाई कारवाही गरिएको छ । जसमा बनगार बजारमा २ जना, कालिमाटी बजारमा ८ जना, काभ्रा बजारमा २ जना, सिमाखोली बजारमा ५ जना, सल्लिबजारमा ४ जना र भोटचौर बजारमा २ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।