सल्यान १, भदौँ ।
सल्यानको लेखपोखरामा रहेको चाँदनी साततले गुफा पर्यटकको रोजाई बन्दै गएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका ५ लेखपोखरामा रहेको चाँदनी सात तले गुफा पछिल्लो समय पर्यटकको रोजाई बन्दै गएको हो । सात वटा तला भएको भन्ने पौराणिक कथन रहेको यस चाँदनी सात तले गुफामा अहिले सम्म पर्यटकहरु तीन वटा तलामा समेत पुग्ने गरेका छन् ।
चाँदी जस्तै टल्कने बस्तु, चमेरा, ढुंगे मादल, प्राकृतिक देवीदेवताका मूर्ती तथा आकृतिले सजिएको यस गुफाको संरक्षणका लागी स्थानिय सक्रिय भएर लागेसँगै यहाँ सम्म घुम्न तथा अवलोकनका लागी आउने पर्यटकहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । आजभोली शनिवार र चाडपर्वको समयमा चाँदनी गुफा आन्तरिक पर्यटकहरुले भरिभराउ हुने गरेको गुफा संरक्षण समितीका अध्यक्ष याम बहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार सल्यान जिल्ला सहित आसपासका जिल्लाहरुबाट समेत पर्यटकहरु यस गुफा सम्म घुम्न तथा अवलोकनका लागी आउने गर्दछन् । गुफाको संरक्षणका लागी निर्माण गरिएको पूर्वाधार विकासले पर्यटकहरुलाई आउजाउमा समेम टेवा पुगेको उहाँको भनाई छ । गुफा संरक्षणका लागी पर्खाल निर्माण, सिढीँ निर्माण, गुफा भित्र सोलार जडान, मोटर वाटो निर्माण, प्रतिक्षालय निर्माण लगाएतका संरचना निर्माणले गर्दा पर्यटकहरुलाई झन् सहजता थपेको उहाँले जानकारी दिनुभयो ।
यस सँगै सिद्ध बाबाको मन्दिर, ढुंगे पानी, ढकढके ढुंगा, नागेश्वर मन्दिर लगाएतकाले पनि पर्यटकहरुको आक्रर्षणमा थप मद्धत मिलेको उहाँको भनाई छ । यसैबिच पर्यटन क्षेत्रको पूर्वाधार विकास गर्ने र प्राकृतिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्धेश्यले आर्थिक बर्ष २०७६/०७७ मा कर्णाली प्रदेश सरकारको विनियोजित बजेटबाट डिभिजन वन कार्यालय सल्यान मार्फत चाँदनी गुफामा बिभिन्न संरचना निर्माण गरिएको छ ।
चाँदनी गुफा प्रवेशद्धार, झण्डै एक किमी सिढीँ र प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । यसले पनि गुफाको संरक्षण र प्रचारप्रसार तथा विकासमा महत्वपूर्ण टेवा मिल्ने उहाँको भनाई छ । अहिले गुफाको संरक्षण र प्रचारप्रसारको लागी स्थानिय सक्रिय भएर लागेका छन् ।