सल्यान ३, साउन ।
क्यामेराको क्यानभास चलाएर तस्वीर सिर्जना गर्ने सम्पुर्ण फोटोग्राफरहरुलाई विश्व फोटोग्राफी दिवसको सर्वप्रथम हार्दिक शुभकामना ।
फोटोग्राफी भन्नाले कुनै वस्तुको आकृति क्यामराको सहायताले फिल्म वा त्यस्तै मिल्दो वस्तुमा उतार्नु भन्ने बुझिन्छ । हरेक वर्षको अगस्ट १९ तारिख अर्थात आजकै दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ । आजको दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका केहि उत्कृष्ट तस्वीरहरु दुनिया सामु प्रस्तुत गर्ने गर्दछन् ।
संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइसफोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए । त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो । सबै भन्दा रोचक कुरा त के थियो भने पहिले पुरानो फोटोमा हासेका मान्छे बिरलै भेट्न सकिन्थ्यो । किनकि तस्वीर खिच्न धेरै समय लाग्ने भएका कारण सबैले आफ्नो हासो थामिराख्न सक्दैन थिए । २० औं शताब्दीमा आएर क्यामेराको ठूलो विकास र प्राविधिक उन्नति भयो । त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा राम्रो परिवर्तन भएको छ ।
फोटोग्राफी एक किसिमको अभिव्यक्ति हो । अहिले फोटोग्राफीमा भएको विकासले थुप्रै इच्छुक मानिसहरुलाई आफ्नो शोक पूरा गर्न मद्धत पुर्याएको छ । एउटा फोटोग्राफरले हरदम एउटा राम्रो तस्वीर खिचेर त्यसलाई बाहिर प्रस्पोटन गर्ने माध्यम खोजिरहेको हुन्छ । अहिले विभिन्न पत्रपत्रिका, टेलिभिजन, अनलाइन मिडिया र सामाजीक सञ्जालहरुले फोटोग्राफीको महत्व दर्शाउनलाई महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
तस्वीरलाई उच्च स्तरीय पिक्सेल भएको क्यामराले मात्र राम्रो बनाउछ भन्ने बुझाइ राख्नु पनि गलत हो । अहिले सबैको हातमा भएको मोबाइलले खिचेका तस्बिरहरुले पनि राम्रा भाव बोकिरहेका छन् ।
तस्वीर खिच्न हामीले भनेको जस्तो, सोचेको जस्तो सजिलो भने पक्कै छैन । फोटोग्राफर एउटा मुमेन्टलाई क्यामेरामा कैद गर्न बिहान देखि साझसम्म कहिले खोलानाला, वनजंगल, पहाड, लेकबेशी, भिरपाखा सम्म जानुपर्ने हुन्छ । फोटोग्राफरले राम्रो तस्वीर निकाल्नलाई जहिले राम्रो लोकेसन हेर्छ । कुन लोकेसनबाट तस्वीर खिच्दा राम्रो आउछ त्यो उसको संघर्ष हो ।
फोटोग्राफी एउटा यस्तो चिज हो जसले पुरानो यादहरुलाई फराकिलो बनाइदिन्छ । हिजोको समय गैसक्यो । हामीले हिजो खिचेका तस्वीरहरु हेर्दा आज जस्तो लाग्छ । अनि फेरि तेही उमेरमा र तेहि परिवेशमा फर्किउ जस्तो लाग्छ । तर यो सम्भव छैन । समय गतिशील छ । तस्वीरहरु यस्ता चिज हुन जो एउटा कालान्तर देखि अर्को कालान्तर सम्म मिठो अनि संमधुर याद बनेर बसिरहन्नछन् ।
केही तस्वीरहरुले इतिहास बोकेका हुन्छन् । केही तस्बिरहरुले याद बोकेका हुन्छन् । केही तस्बिरहरुले माया बोकेका हुन्छन् । केही तस्वीरहरुले भाव बोकेका हुन्छन् । हामी कस्ता थियौं ? हाम्रो परिबेश कस्तो छ र पछि कस्तो हुनेछ ? भन्ने यावत विषयमा तस्वीरहरुले हामीलाई केही सोच्न बाध्य बनाइदिन्छन् । बस तस्वीरलाई हेर्ने र पढ्ने हाम्रो नजरिया कस्तो छ यो कुरा हामीमा भर पर्छ ।
एउटा तस्वीरका अगाडि हजारौं शब्दहरु फिक्का लाग्छन् । भनिन्छ : तस्वीर आफै बोल्छ ।
हेर्नुहोस् सल्यान टुडे डटकमका फोटोग्राफर बामदेव केसीले विभिन्न समयमा कैद गर्नुभएका सल्यान जिल्लाका केही उत्कृष्ट तस्बिरहरू :