सल्यान ४, साउन ।
सल्यानका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १० महिनाको बच्चा र ४६ वर्षीय पुरुष, वडा नम्बर २ का २२ वर्षीय पुरुष, वडा नम्बर ३ का २० र २२ वर्षीय पुरुष र १५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
यस्तै वडा नम्बर ४ का २१, २४, ३०, ४२, ४२, ४७ वर्षका पुरुष र ४, ८ र ३५ वर्षीया महिला र वडा नम्बर ५ का ४७ वर्षीय पुरुष रहेका छन् । संक्रमित सबैलाई बनगाड आइसोलेसनमा राखिएको छ । यससँगै सल्यानमा संक्रमितको संख्या २ सय ७९ पुगेको छ । भने हाल सम्म २ सय ५१ जना निको भएर घर फर्किएका छन् ।
चाडपर्वमा भिडभाड नगर्न आग्रह
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले हरितालिका तिजलाई घरमा नै बसेर मनाउन आग्रह गरेको छ । गाउँघर तथा शहर वजारमा हुलहाल, जमात, नाचगान गरेको फेला पारे संक्रमक रोग ऐन अन्तर्गत कारवाही थालिने बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनुभएको छ । नगरमा अवस्था झन जटिलता तर्फ उन्मुख भएकोले वजारमा किनमेल र भिडभाड वढि देखिएकोले सजकता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।