प्रकाश भण्डारी/बामदेव केसी,
सल्यान ५, भदौँ ।
सल्यानको बागचौरका स्थानीयहरुको सहभागीतामा बागचौर बजारको सहिद गेट नजिकै निर्माण गरिएको पिपल चौतारीमा १ सय ३१ वटा मैनबत्ति बालेर आज सामुहिक उद्घाटन गरिएको छ । २०५४ सालमा तत्कालीन एमालेको विभाजन प्रश्चात माले पार्टी जिल्ला कमिटीको निर्णय बमोजिम जनश्रमदान गर्ने अभियान अन्तर्गत सबै दलका कर्याकर्ताको सहभागीतामा यो चौतारी निर्माण भएको थियो । तत्कालीन मालेका सल्यान जिल्लाका नेता उदय वहादुर वोहोरा, गुलाव जङ्ग शाह, गोबिन्द पुन र ज्ञानेश्वर केसीको नेतृत्व लगाएत ६५ जना कर्याकर्ताको श्रम शिविरबाट यो चौतारी निर्माण गरिएको थियो ।
आर्थिक बर्ष २०७५/०७६ सालमा कर्णाली प्रदेश सरकारले यो चौतारी निर्माणका लागि केही रकम विनियोजन गरेता पनि, राजनीतिक पुर्वाग्रहले गर्दा बजेट फ्रिज भइ काम अगाडि बढ्न नसक्दा स्थानियहरु आफैंले अहिले चौतारा निर्माण गरेका हुन् । कर्णाली प्रदेश सरकारका अर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाबाट रु १० हजार, मुख्यमन्त्रीका राजनितीक सल्लाहकार भिमप्रकाश शर्माबाट रु ५ हजार, नेपाली कांग्रेसका नगर सभापति जनक गौतमबाट रु ५ हजार, जनकल्याण नमुना माद्यामिक बिद्यालयका प्रधानाध्यापक डा. पुर्ण भण्डारी पंकजले रु ५ हजार सहयोग गर्नुभएको थियो ।
बागचौरका अन्य स्थानियहरुले आर्थिक सहयोगका साथै सिमेन्ट, बेन्च, गिट्टी र बालुवा सहयोग गरि काम सम्पन्न गरेका हुन् । निर्माण कार्यको चौतारी ढलानको दिनमा करिब ५५ जनाले जनश्रमदान गरेका थिए । नेकपाका नेता तथा समाजसेवी ज्ञानेश्वर केसीले सल्यान टुडे डटकमसँग कुरा गर्दै भन्नुभयो ‘करिब १ लाख ५० हजारको कुल लागतमा यो काम सम्पन्न भएको छ ।’
‘चौतारी निर्माणको काममा अझै चारैतिर फलामे बेन्च राख्ने काम बाँकी छ, यो अभियानमा सहयोग गर्ने सबै चन्दादाताको विवरण सहित निकट भविष्यमा पारदर्शिताका साथ आम्दानी, खर्चको सामाजिक जनलेखापरिक्षण गर्ने प्रतिबद्धता समेत जाहेर गर्छु’ उहाँले भन्नुभयो ।
पिपल चौतारीको सामुहिक उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका वडा नम्वर २ का वडा सदस्य चन्द्र प्रकाश ओली, नेपाली कांग्रेसका नगर सभापति जनक गौतम, नेकपा कर्णाली प्रदेश कमिटी सदस्य सुम्निमा (डिसी) वली, नेकपाका नेता तथा समाजसेवी ज्ञानेश्वर केसी लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।