सल्यानका बाढीपहिरो पिडितलाई राहत, क्षतीपूर्ती र पुर्नस्थापनाको ब्यबस्था गर्छौ : मन्त्री ज्वाला

सल्यान ६, भदौँ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानका बाढीपहिरो पिडितलाई राहत, क्षतीपूर्ती र पुर्नस्थापनाको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले सल्यान जिल्लाका बिभिन्न ठाँउहरुमा बाढीपहिरोबाट भएको क्षतिको उचित मुल्यांकन गरी प्रदेश सरकारबाट आवश्यक राहत, क्षतिपूर्ति र पुर्नस्थापनाको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री ज्वालाले केही दिनदेखीको भीषण बर्षाका कारण सल्यान जिल्लाका बिभिन्न स्थानमा भएको क्षतीले आफुलाई स्तब्ध बनाएको बताउनुभएको छ । ‘जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको बिभिन्न वडा र बन्गाड खोला आसपास, बागचौर नगरपालिका वडा नम्बर १२ बाफुखोला समेतका स्थान, छत्रेश्वरी गाउपालिका, शारदा नगरपालिका लगाएत जिल्लाका बिभिन्न स्थानमा जनताका घरगोठ, बस्तुभाउ, खेतबारी तथा खानेपानी, सिचाई, बिद्यालय भवन, सडक लगाएत बिकास संरचनाको ठूलो क्षति भएको कुराले स्तब्ध वनाएको छ’ उहाँले भन्नुभयो ‘यस बिपत्तिको धैर्यतासाथ सामना गर्न म सल्यानी जनतासँग अनुरोध गर्दछु, जनताबाट निर्वाचित जनप्रतिनिधिको नाताले तपाईहरुको दुःखमा प्रदेश सरकारको साथमा छ भन्ने बिश्वास दिलाउन चाहान्छु ।’

मन्त्री ज्वालाले यस समस्यामा उद्धार, राहत र सहयोगमा जुट्न सबै जनप्रतिनिधि, स्थानिय तह, राजनितिक दलका नेता कार्यकर्ता, राष्ट्रसेवक, ब्यबसायी, नागरिक समाज लगाएत सबै सँग अपिल समेत गर्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस