सल्यान ८, भदौँ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानको बागचौर नगरपालिका १२ बाफुखोलाका बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको छ । कर्णाली प्रदेश सरकारको तर्फबाट अर्थ मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
गत भदौ ३ गते राति आएको बाढीपहिरोले यहाँका केही परिवार घरवार बिहिन भएका छन् भने दर्जनौँ घर जोखिममा परेका छन् । आईतवार बाढीपहिरोले क्षती भएको क्षेत्र बाफुखोलामा पुगेर ज्वाला र शर्माले बाढीपहिरो पीडितको लागी राहत सामाग्री बागचौर नगरपालिका १२ का वडाअध्यक्ष दिपक वलीलाई हस्तान्तरण गर्नु भएको हो ।
राहत लिएर बाफुखोला पुग्नु भएका मन्त्री ज्वालाले जनताको सुखमा मात्रै नभएर दुखमा पनि प्रदेश सरकार रहेको बताउनुभएको छ । कोरोना भाइरस, सलह किराले आक्रान्त बनाएको अबस्थामा फेरी बाढीपहिरोले झन् समस्या थपिदिएको बताउदैँ मन्त्री ज्वालाले पिडित परिवारका समस्या बुझ्न र पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्न आफु बाफुखोला आएको बताउनुभएको हो ।
सो अबशरमा प्रदेश सरकारका तर्फबाट मन्त्री ज्वाला र मूख्यमन्त्रीका राजनितिक सल्लाहकार शर्माले बागचौर नगरपालिका वडा नम्बर –१२ का वडा अध्यक्ष दीपक ओलीलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो । जसमा प्रदेश सरकारले चामल, त्रिपाल, कम्बल, म्याट, झुल लगाएतका सामाग्री हस्तान्तरण गरेको छ ।
दार्मा गाउँपालिकाद्धारा राहत हस्तान्तरण
सल्यानको दार्मा गाउपालिकाले पनि बागचौर नगरपालिका १२ बाफुखोलाका बाढीपहिरो पिडित परिवारको लागी राहत सामाग्री हस्तान्तरण गरेको छ । बाफुखोलामा पुगेर गाउपालिका अध्यक्ष निम बहादुर केसीले चामल, तेल, नुन, कम्बल, साबुन लगाएतका सामाग्री हस्तान्तरण गर्नुभएको थियो । छिमेकी स्थानिय तहमा बिपत्ती परेको अबस्थामा भाइचारको सन्देश दिदैँ गाउपालिकाले सक्दो सहयोग गरेको उहाँको भनाई छ ।