सल्यान १०, भदौँ ।
सल्यानमा ट्राफिक प्रहरीको सक्रियताका कारण सवारी दुर्घटनामा कमी आएको छ । विगतमा जिल्लामा सवारी दुर्घटना हुनेको दर धेरै भएपछि पछिल्लो समय नागरिक सचेत बन्नु तथा ट्राफिक प्रहरीको सक्रियताका कारण जिल्लामा सडक सवारी दुर्घटनामा कमी आएको हो । जिल्लाको विगतको तथ्यांङ्कलाई हेर्दा सवारी दुर्घटनामा कमी आएको देखिन्छ ।
आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर ६८ वटा सवारी दुर्घटना भएका छन् । यो अघिल्लो आर्थिक बर्ष २०७५/०७६ को भन्दा झण्डै ३३ प्रतिशतले कमी हो । अघिल्लो बर्ष जिल्लाभर १ सय १ वटा सवारी दुर्घटना भएका थिए । आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर सवारी दुर्घटनामा परेर १५ जनाले अकालमा नै ज्यान गुमाएका छन् भने अघिल्लो बर्ष १८ जनाको मृत्यू भएको थियो ।
यस्तै आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर सवारीदुर्घटनामा परेर ७ जना शक्त घाइते र १ सय १२ जना सामान्य घाइते भएका छन् भने अघिल्लो बर्षमा २५ जना शक्त घाइते र १ सय ५६ जना सामान्य घाइते भएका थिए । बिगतको बर्षलाई हेर्दा जिल्लामा सवारीसाधन दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी सहायक निरिक्षक सन्दिप विकले जानकारी दिनुभयो ।
जिल्लाभर ट्राफिक प्रहरीले गरेको थप कडाईले पनि सवारी दुर्घटनामा कमी आएको उहाँको भनाई छ । ‘चालकको लापरवाही, तिव्र गति, क्षमता भन्दा बढी हुनु, कच्ची तथा जिर्ण सडक लगाएतका कारणले बढी मात्रामा सवारी दुर्घटना हुन्छ’ उहाँले भन्नुभयो ‘ट्राफिक प्रहरीको चेकजाँचमा थप कडाई, ठाँउ–ठाँउमा चेक प्वाइन्ट स्थापना तथा चालक र यात्रुहरुको सावधानीका कारण सडक दुर्घटनामा कमी आएको हो ।’
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले प्रहरी र ट्राफिक प्रहरी सहित सरोकारवाला निकायहरुको सक्रियतामा सवारी दुर्घटनामा कमी आएको बताउनुभयो । यात्रु सँग २ मिनेट कार्यक्रम, चालक, सहचालक, यातायात ब्यबसायी र सरोकारवालाहरुको बिचमा भएका पटक–पटकका छलफल तथा आमयात्रुहरुको सावधानीले जिल्लामा सवारी दुर्घटनामा कमी आएको उहाँको भनाई छ । सवारी दुर्घटनालाई न्यनिकरण गर्नको लागी आफुहरुले बिभिन्न अभियान सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
राजस्व संकलनमा भारी गिरावट
सल्यानमा अघिल्लो आर्थिक बर्ष २०७५/०७६ को तुलनामा आर्थिक बर्ष २०७६/०७७ मा राजस्व संकलनमा भारी गिरावट आएको छ । आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर ३२ लाख ६८ हजार ५ सय राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै ४३ प्रतिशतले कमी हो । अघिल्लो बर्ष जिल्लाभर ५६ लाख ५५ हजार ५ सय रूपैयाँ राजस्व संकलन गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा ट्राफिक नियम उल्लंघन गर्ने यात्रुबाहक बसबाट ५ लाख ६० हजार, ट्रकबाट ४ लाख ५७ हजार, जीपकारबाट ६ लाख २३ हजार ५ सय, मोटरसाइकलबाट १३ लाख २४ हजार र ट्याक्टरबाट ३ लाख ४ हजार राजस्व संकलन गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउन, ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही गर्दा बैंकिङ प्रणालीबाट जरीवाना तिर्नु लगाएतका कारणले राजस्व संकलनमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।