सल्यान १२, भदौँ ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले संगठन बलियो भएमा मात्रै पार्टी बलियो हुने बताउनुभएको छ । उहाँले पार्टीका हरेक गतिविधि स्थानिय स्तर सम्म लैजादैँ आमनेता तथा कार्यकर्तालाई संगठित गरेर अगाडी बढ्न सकेमात्रै पार्टी बलियो हुने बताउनुभएको हो ।
बिहीवार लुहाममा आयोजित नेपाल कम्यूनिष्ट पार्टी नेकपा सल्यानको त्रिबेणी गाउपालिका वडा नम्बर ६ को सपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो जनताले रुचाएर नै नेकपालाई देशकै पहिलो र ठूलो शक्ति बनाएका छन्, यसलाई संस्थागत गर्दै अगाडी बढ्नुपर्छ ।
प्रतिनिधिसभा सदस्य समेत रहनुभएका बस्नेतले नेकपाको लोकप्रियता देखेर आन्तरिक तथा बाह्यशक्तिहरु आत्तिएको बताउनुभएको छ । उहाँले जनताले नेकपालाई दिएको मत र बिश्वासलाई आत्मसाथ गर्दै देशमा बिकास र समृद्धिको अभियानले तिव्रता पाएको बताउनुभएको छ ।
कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्यहरु रमेश कुमार गौतम, भिउसेन नेपाली, बुद्धि केसी, गाउँ कमिटी अध्यक्ष लोकेन्द्र सिंह खड्का, गाउँ कमिटीका सचिव अजय रोका लगाएतको आतिथ्यता रहेको थियो । सो अबशरमा नवगठित २५ सदस्यीय वडा कमिटीलाई गाउँ कमिटीका अध्यक्ष लोकेन्द्र सिंह खड्काले सपथ ग्रहण गराउनु भएको थियो ।
वडा कमिटीका अध्यक्ष लाल बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा कमिटीका सचिव भूपाल डाँगीले गर्नुभएको थियो ।