सल्यान १३, भदौँ ।
सल्यानमा अति बिपन्न तथा लक्षित बर्ग बिशेष कार्यक्रम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश सरकारको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रम कृषि बिकास कार्यालय सल्यानले जिल्लाका २ वटा गाँउमा सञ्चालन गरेको हो । अति बिपन्न समुदायलाई आयआर्जनका क्रियाकलापमा सहभागी बनाउदैँ उनीहरुको जीवनस्तरमा सुधार गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
जसमा सल्यान जिल्लाबाट निर्वाचित प्रदेश सभासदस्य प्रकाश ज्वाला र गुलावजंग शाहको सिफारिसमा जिल्लाका अती बिपन्न समुदायमा कार्यक्रमा सञ्चालन गरिएको हो । जस अन्र्तगत प्रदेश सभा ‘ख’ का सांसद एवम् आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाको सिफारिसमा त्रिबेणी गाउपालिका वडा नम्बर १ कोलचौर र प्रदेशसभा ‘क’ का सांसद शाहको सिफारिसमा सिद्धकुमाख गाउपालिका वडा नम्बर ३ डाँडाकटेरीमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम कार्यन्वयनका लागी आर्थिक बर्ष २०७६/०७७ मा दुबै क्षेत्रमा ४० लाखका दरले रकम प्राप्त भएको थियो । सोही अनुसार अति बिपन्न तथा लक्षित समुदायको सक्रिय सहभागितामा जिल्लाका २ वटैँ गाउँमा कार्यक्रम सञ्चालन गरिएको कृषि बिकास कार्यालय सल्यानका सुचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।
जसमा त्रिबेणी गाउपालिकाका ९० घरपरिवार लाभान्वित भएका छन् । मगर, क्षेत्री र दलित समुदायको बसोँबास भएको कोलचौरमा २ सय ६४ वटा बाख्रा, ७ वटा बोयर बोका, १० वटा बंगुरका पाठापाठी वितरण गरिएको छ । यस्तै २७ सय कागतीका बिरुवा, २७ सय टिमुर तथा डालेघाँसका बिरुवा वितरण गरिएको छ ।
यस्तै सिद्ध कुमाख गाउपालिकाका ५७ घरपरिवार लाभान्वित भएका छन् । दलित समुदायको बस्ती रहेको डाँडाकटेरीमा सिँचाईका लागी तीन वटा सिचाँइ ट्यांकी निर्माण गरिनुका साथै ३ किमी टाढाबाट पानी ल्याएर पिउने तथा सिँचाइको ब्यबस्था गरिएको छ । यस्तै ८० वटा बाख्रा, ३ वटा बोयर बोका, ४८ वटा बंगुरका पाठापाठी वितरण गरिएको छ ।
यस्तै ३७ वटा बाख्रा खोर निर्माण, ३ वटा खोरको मर्मत एवम् बंगुरका खोर निर्माण तथा कागती र टिमुरका गरेर १८ सय बिरुवा वितरण गरिएको छ । यस्तै तरकारी बीउ, औजार तथा किटनाशक बिषादी, घाँसको बीउ तथा खेती सम्बन्धी तालिम समेत प्रदान गरिएको कार्यालयका सूचना अधिकारी बस्नेतले बताउनुभयो ।
यस कार्यक्रमले न्यून आय भएका दलित परिवारको स्वरोजगारको ढोका खोलेको उहाँले बताउनुभयो । बिपन्न परिवारलाई आयआर्जनका कार्यमा सरिक बनाउदैँ आर्थिक स्तरमा सुधार ल्याउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाई छ । अबको केही बर्षमा कार्यक्रम सञ्चालन गरिएको गाउँका स्थानियले आम्दानी गर्न शुरु गर्ने कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।