सल्यान १४, भदौँ ।
सल्यानको सदरमुकाम खलंगामा जडान गरिएको सडक सौर्य बत्ती बल्न छोडेका छन् । जिल्लाको सदरमुकाम खलंगामा रातीको समयमा हुन सक्ने अप्रिय घटनाहरुमा कमी ल्याउन तथा स्थानिय नागरिकलाई हिड्डुल गर्न केही हदसम्म सहज हुने उद्धेश्यले शारदा नगरपालिकाले सडक बत्ती जडान गरेको थियो ।
तर सडक बत्ती जडान गरेको २ बर्षमै बिग्रीएका छन् । अहिले केही बत्ती बल्नै छोडेका छन् भने बलेका केही बत्ती पनि ४–६ घण्टा मात्र बल्छन् । बत्ती जडान गरेपश्चात नियमित रुपमा मर्मत सम्भार नहुदाँ बत्ती बल्न छोडेका हुन् ।
रातको समयमा हुने हिड्डुलमा सहजताको लागी भन्दै शारदा नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा सडक बत्ती जडान गरेको थियो । सडकमा सोलार बत्ती जडान गर्दा सदरमुकामवासी निकै हर्षित भएका थिए तर बत्ती जडान गरेको २ बर्षमै विग्रिएपछि अहिले निराशा छाएको छ । साबिकको जिल्ला भूसंरक्षण कार्यालय अगाडी जडान गरिएको सडक सौर्य वत्तीले काम गर्न छोडेको छ ।
त्यस्तै अन्य स्थानमा पनि जडान गरिएका वत्तीले राम्रोसँग काम गर्दैनन् । तत्कालिन समयमा सदरमुकाम खलंगामा गणेशथान देखी डाँडागाँउ सम्म ५ वटा सोलार बत्ती जोडिएको थियो । अहिले थप सडक बत्ती सदरमुकाम खलंगासँगै श्रीनगर, बरला वजार, शान्तीनगर लगाएतका वजार क्षेत्रहरुमा सडक बत्ती जडान गरिएको छ ।
यता शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बिग्रिएका सडक बत्तीहरुको मर्मत गरिने बताउनुभयो । नगरपालिकाले संरचना निर्माण गरिदिने र स्थानियले त्यसको मर्मत सम्भार तथा रेखदेख गर्नुपर्ने बताउदैँ उहाँले बिग्रिएका सडक बत्तीको मर्मत गरिने जानकारी दिनुभयो ।