सल्यानमा भेटिएका कोरोना संक्रमित मध्ये ८६ प्रतिशत भारतवाट फर्किएका

पिसिआर बिना गाँउ पठाएका छैनौँ : प्रजिअ पोखरेल

सल्यान १६, भदौँ ।
सल्यानमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये ८६ प्रतिशत बढी भारतबाट फर्किएका ब्यक्तिहरु रहेका छन् । हाल सम्म सल्यान जिल्लाभर भेटिएका कोरोना संक्रमण भएकाहरु मध्ये ८६ दशमलव ६२ प्रतिशत भारतबाट फर्किएका ब्यक्तिहरु रहेका छन् । जिल्लामा अहिले सम्म २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ८६ दशमलव ६२ प्रतिशत अर्थात २ सय ५९ जना भारतवाट फर्किएका ब्यक्तिहरु रहेका छन् । यस्तै ८ दशमलव ०२ प्रतिशत अर्थात २४ जना कता, साउदी, मलेसिया, दुवई लगाएतका तेस्रोमुलुकबाट फर्किएका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५ दशमलव ३५ प्रतिशत अर्थात १६ जना स्थानिय एवम् देशका बिभिन्न ठाँउबाट फर्किएका ब्यक्तिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जसमा सबै भन्दा धेरै बन्गाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । यस नगरमा १ सय ८२ जना भारतवाट फर्किएका, ३ जना तेस्रोमुलुकबाट र १ जना स्थानिय सहित १ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागचौर नगरपालिकामा भारतबाट फर्किएका १३ जना, तेस्रोमुलुकबाट फर्किएका ५ जना र देशभित्रका १ जना गरेर १९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै शारदा नगरपालिकामा तेस्रोमुलुकबाट ३ जना, देभभित्रका २ जना र भारतबाट फर्किएका १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै कुमाख गाउपालिकामा भारतवाट फर्र्किएका ३५ जना, देशभित्रका २ जना र तेस्रोमुलुकबाट फर्किएका १ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दार्मा गाउपालिकामा १३ जना भारतवाट फर्र्किएका, ३ जना स्थानिय र २ जना तेस्रोमुलुकबाट फर्किएका गरेर १८ जना, त्रिबेणी गाउपालिकामा भारतबाट फर्किएका ५ जना र तेस्रोमुलुकबाट फर्किएका ४ जना गरेर ९ जना र कालीमाटी गाउपालिकामा तेस्रोमुलुकबाट फर्किएका ४ जना, भारतवाट फर्किएका ३ जना र देशभित्रका २ जना गरेर ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सिद्धकुमाख गाउपालिकामा ३ जना भारतवाट फर्किएका र १ जना देशभित्रका सहित ४ जना, छत्रेश्वरी गाउपालिकामा भारतका फर्किएका २ जना र तेस्रोमुलुकबाट फर्किएका २ जना सहित ४ जना, कपुरकोट गाउपालिकामा २ जना देशभित्रका र २ जना भारतबाट फर्किएका सहित ४ जनामा संक्रमण पुष्टि भएको छ ।
सल्यानमा भेटिएका कोरोना भाइरस संक्रमित मध्ये अहिले सम्म २ सय ५७ जना संक्रमित निको भएर घर फर्किएको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । उहाँले जिल्लामा भेटिएका बाँकी ४३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेको जानकारी दिनुभयो । ती संक्रमितहरु लुहापिङ आइसोलेसन, बन्गाड आइसोलेसन र भोटेचौर आइसोलेसनमा उपचाररत रहेका छन् ।

कोरोना रोकथामको लागी सरकारले गरेको लकडाउन यता भारत सहितको तेस्रोमुलुकबाट झण्डै १५ हजार नागरिक जिल्लामा भित्रिएका छन् । बाहिरबाट आउने नागरिकहरुलाई स्थानिय तहसँगको समन्वयमा सिघैँ क्वारेन्टाइनमा राख्ने र पिसिआर गरेर मात्रै घर पठाउने गरेका कारण समुदायस्तरमा नै कोरोना फैलिने सम्भावना कम भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । कोरोनाको संक्रमणबाट बच्नको लागी आमनागरिकहरु पनि सचेत बन्दै गएको उहाँको भनाई छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस