सल्यान १७, भदौँ ।
सल्यानमा एक बैँकले महिलाको मृत्यु भएपछि बैंक किस्ता रकम मिनाह सहित तिरिसकेको साँवा व्याज तथा काज क्रिया बापतको रकम हस्तान्तरण गरेको छ । मुक्तिनाथ विकास बैंकको साना तथा लघु बैंकिङ्ग डेस्क कार्यालय थारमारेका सदस्य दिपा रावतको मृत्यु भएपछि बैकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाह र तिरिसकेको साँवा व्याज तथा काज क्रिया बापतको रकम हस्तान्तरण गरेको हो ।
बैंकले तिरीसकेको सावाँ र व्याज बापतको रकम १ लाख ६४ हजार २ सय ३३ रुपैयाँ र काजक्रीया बापतको रकम ५ हजार हस्तान्तरण गरेको छ । त्यस्तै उनले तिर्न बाँकी रहेको कर्जा रु. १ लाख १७ हजार २ सय १९ रुपैयाँ पनि मिनाह गरेको छ । उक्त रकम शारदा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष तुसीराम रावतलाइ मंगलबार हस्तान्तरण गरिएको हो ।
मुक्तिनाथ विकास बैंक लिमिटेड थारमारे शाखाका शाखा प्रमुख गेहेन्द्र भट्टराईले बैंक जनताको दुःखमा पनि सधै साथमा रहेर अगाडी बढेको भन्दै हरेक नेपालीहरुको सुख, दुःखमा तथा धनि देखि गरीबहरुलाई वित्तिय सेवा दिईरहेको जानकारी दिनुभयो । साथै बैँकको सामाजिक उत्तरदायीत्व अन्र्तगत यस कार्य गरिएको उहाँको भनाई छ ।