समुदायस्तरमा नै कोरोना देखिएपछि लेखपोखराका २० जनाको स्वाव संकलन

सल्यान २२ भदौँ ।
सल्यानमा समुदाय स्तरमा नै कारोना भाइरसको संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका ब्यक्तिहरुको स्वाव संकलन गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखरामा पहिलो पटक ट्राभल हिस्ट्रि नभएका एक जना पुरुषमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको सोमवार स्वाव संकलन गरिएको हो ।

छत्रेश्वरी गाउपालिकाको सहयोगमा लेखपोखरामा २० जनाको स्वाव संकलन गरिएको वडाअध्यक्ष लिलाधर घर्तीले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोरोना संक्रमितको सबै भन्दा नजिक सम्पर्कमा रहेकाहरुको स्वाव संकलन गरेर पठाईएको र ती स्वावको रिपोर्ट पश्चात आगामी योजना तय हुने जानकारी दिनुभयो ।

छत्रेश्वरी गाउपालिका स्वास्थ्य शाखा संयोजक केशरी कुमारी भट्टाराईले लेखपोखरामा संकलन गरिएका स्वावहरु परिक्षणका लागी मंगलवार बिहान मात्रै प्रयोगशालामा पठाउने जानकारी दिनुभयो । उहाँले लेखपोखरामा सँगै गाउपालिकाको आइसोलेसन तथा क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागी पठाउने जानकारी दिनुभयो ।

गत १५ गते स्वाब संकलन गरि परिक्षण गरिएका ६१ वटा नमुना मध्य शुक्रवार लेखपोखराका ३३ वर्षिय एकजना पुुुुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिएपछि शनिबार बिहान ५ बजेदेखि २७ गते राती १२ बजेसम्मका लागि पुर्णरुपमा वडा सिल गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस