खाद्यान्नमा आत्मनिर्भर सल्यान : ‘एक बर्षमा ८ हजार ७ सय ४३ मेट्रिकटन खाद्यान्न बचत’

 

सल्यान २३, भदौँ ।

देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा खाद्यान्नमा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । तर, पछिल्लो समय पहाडी जिल्ला सल्यान खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ । केही वर्ष अघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग हुने सल्यान यतिबेला भने बचतको अवस्थामा पुगेको हो ।

खाद्यबाली अन्तर्गत पर्ने धान, मकै, कोदो र गहुँ लगायतका बालीको पछिल्लो समयमा उत्पादन बढेसँगै सल्यान खाद्यान्नमा आत्मनिर्भर भई बचतको अवस्थामा पुगेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । मौसमी तालमेत, प्रविधि प्याकेजको प्रयोग, मलखाद, उन्नत बीउ, यान्त्रीकरण तथा कृषकको सक्रियताको कारण सल्यान खाद्यान्न बचतको अवस्थामा पुगेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो ।

बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको उहाँको भनाइ छ । कृषकले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्री–वितरण गर्दै आएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा ९७ हजार ६ सय ६४ मेट्रिक टन खाद्यन्न उत्पादन भएकोमा जिल्लामा खपत भई ८ हजार ७ सय ४३ मेट्रिकटन खाद्यान्न बचत रहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताउनु भयो ।

जिल्लामा गत आर्थिक वर्षमा १६ हजार १ सय ४ मेट्रिक टन धान, ५१ हजार १ सय ७३ मेट्रिक टन मकै, २९ हजार १ सय ३८ मेट्रिक टन गहुँ, ९ सय २१ मेट्रिक टन कोदो र ३ सय २५ मेट्रिक टन जौं उत्पादन भएको छ । जसमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

यस्तै १९ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा मकैँ, १४ हजार २ सय १७ हेक्टर क्षेत्रफलमा गहुँ, ६ सय ७५ हेक्टर क्षेत्रफलमा कोदोँ र १ हजार ४० हेक्टर क्षेत्रफलमा जौँ खेती हुने गरेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्लामा हाल प्रतिव्यक्ति वार्षिक २ सय १ किलो खाद्यान्न आवश्यक पर्ने पर्दछ ।

जिल्लामा उत्पादित कुल खाद्यान्न मध्ये ५४ हजार ७ सय ३८ मेट्रिक टन खाद्यान्न जिल्लामा आबश्यक पर्दछ । यस्तै कुल उत्पादनको ५ प्रतिशत अर्थात ४ हजार ८ सय ८३ मेट्रिक टन खाद्यान्न मादक पदार्थ बनाउनमा प्रयोग हुने गरेको छ भने पशु आहारमा ३० प्रतिशत अर्थात २९ हजार २ सय ९९ मेट्रिक टन खाद्यान्न प्रयोग हुने गरेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

जिल्लामा रहेको बाँझो जमिनलाई उपयोगमा ल्याउनुका साथै ब्यबसायिकरण र आधुनिकिरण गर्न सके जिल्लामा खाद्यान्न उत्पादनमा अझै बृद्धि हुने कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस