निर्वाहमुखी नभई व्यबसायिक कृषिमा लाग्न मन्त्री ज्वालाको आग्रह

सल्यान १, असोज ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले निर्वाहमुखी नभई व्यबसायिक कृषिमा लाग्न आग्रह गर्नुभएको छ । कृषि क्रान्ति नै आर्थिक समृद्धिको आधार भएको बताउदैँ उहाँले निर्वाहमुखी र परम्परागत कृषि प्रणालीलाई त्यागेर व्यबसायिक कृषिमा लाग्न कृषकहरुलाई आग्रह गर्नुभएको हो ।

बुधबार जिल्लाको कपुरकोट गाउपालिका वडा नम्बर ५ मा सिँदुरे खोला सिँचाई योजनाको उद्घाटन गर्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले परम्परागत तरिकाले कृषि गर्दा लगानी धेरै हुने तर आम्दानी कम हुने भएकाले आधुनिक कृषि औजारउपकरणको प्रयोग गरी व्यवसायिक कृषिमा लाग्न आग्रह गर्नुभएको हो ।


‘किसानलाई कृषिमा आकृषित गर्नको लागी प्रदेश सरकारले बिभिन्न खाले कृषक लक्षित कार्यक्रम सञ्चालन गरेको छ, कृषि ऋणमा ब्याज अनुदान सहुलियत कार्यक्रम पनि यस बर्ष देखी सञ्चालन गरेका छौँ’ उहाँले भन्नुभयो ‘सिँचाई नभएको ठाँउमा सिँचाई कुलो निर्माण लगाएतका काम पनि सञ्चालन गरिरहेका छौँ ।’ मन्त्री ज्वालाले कपुरकोट गाउपालिकाको यस क्षेत्र तरकारी तथा फलफूल खेतीका लागी पनि प्रख्यात ठाँउ भएको बताउदैँ सक्रियताका साथ कृषिमा लाग्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा कपुरकोट गाउपालिका उपाध्यक्ष तिला बुढा मगर, नेकपाका प्रदेश कमिटी सदस्यद्धय उदय बोहोरा र भद्रसिंह बुढा, समाजसेवी दुर्गा पुन लगाएतको सहभागिता रहेको थियो । सिँचाई कुलो निर्माण उपभोक्ता समितीका अध्यक्ष कुल बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाश भण्डारीले गर्नुभएको थियो । यस सिँचाई कुलोबाट प्रत्यक्ष रुपमा १६ घरधुरी लाभान्वित भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस