सल्यान २, असोज ।
सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि यसतर्फ लागेका हुन् । टिमुर, रिठ्ठा, तेजपात लगायतका जडीबुटीका लागि यहाँको हावापानी अनुकूल भएकाले कृषकले यसको खेती गर्न थालेका छन् ।
प्राकृतिक रूपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् । शारदा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लिला बहादुर रोकाले आफ्नो वडाका करिब २ सय घरपरिवारले टिमुरखेती गर्दै आएको बताउनुभयो । बिगतमा घरायसी प्रयोगका लागी मात्रै टिमुरखेती गरिने भएपनि अहिले भने ब्यबसायीक रुपमा टिमुर खेती गर्दै आएको उहाँको भनाई छ ।
उहाँले यस वडाबाट मात्रै बार्षिक रुपमा करिब ८० लाख बढीको टिमुर बिक्री हुने गरेको जानकारी दिनुभयो । ‘यहाँका स्थानियले ब्यबसायिक टिमुर खेती गर्न थालेका छन्, पहिले टिमुरले मूल्य पाउदैन्थ्यो, अहिले वजार भाउ राम्रो पाउन थालेपछि स्थानिय यस तर्फ आकृर्षित भएका छन्, प्रतिपरिवारले बार्षिक ३० हजार देखी २ लाख सम्म आम्दानी गर्छन्’ उहाँले भन्नुभयो ।
डिभिजन वन कार्यालय सल्यानले जिल्लामा जडीबुटी उत्पादनका लागि राम्रो सम्भावना भएको बताएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाबाट १७ करोड रुपैयाँ बढीको जडिबुटी निर्यात भएको छ । टिमुर, रिठ्ठा, तेजपात, दालचिनीको बोक्रा, घोडाताप्रे लगाएतका ३ लाख ६४ हजार ४ सय किलो बहुमूल्य जडिबुटी जिल्लाबाट अन्यत्र पठाइएको हो । जिल्लामा ३ लाख ६४ हजार ४ सय किलो बहुमूल्य जडिबुटी उत्पादन हुँदा १८ लाख ५१ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको छ ।