सल्यान ३, असोज ।
सल्यानका बिभिन्न सामुदायिक वनहरुमा संकलन गरिएको खोटो तीन बर्ष बितिसक्दा पनि निकासी हुन सकेको छैन् । जिल्लामा रहेका झण्डै आधा दर्जन बढी सामुदायिक बनमा संकलन गरिएको खोटो निकासी नुहदाँ समस्या भएको हो । सामुदायिक वनमा संकलन गरेको खोटो संकलन कम्पनीले निकासी नगर्दा आर्थिक रुपमा ठूलो क्षती भएको बन उपभोक्ता समितीहरुले गुणासो गरेका छन् ।
शारदा नगरपालिका वडा नम्बर ४ सुनटाकुरामा रहेको सालघारी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष रोमप्रकाश थापाले २०७५ साल देखीको खोटो निकासी नहुदाँ समस्या भएको बताउनुभएको छ । मनकामना रोजिन एण्ड केमिकल्स उद्योग प्रालिले सामुदायिक वनमा संकलन भएको खोटो आफुले संकलन गरी निर्यात गर्ने भनेर सामुदायिक बन सँग सम्झौता गरेको थियो ।
सम्झौता भएको केही बर्ष सम्म सम्झौता अनुसार नै खोटो संकलन गर्ने गरेको भएपनि २०७५ साल देखी संकलित खोटो निर्यात नहुदाँ समस्या भएको अध्यक्ष थापाको भनाई छ । ‘यस सामुदायिक बनमा ६ सय ३० टिना खोटो संकलन भएको थियो । २०७५ सालमा संकलन भएको खोटो अझै निकासी हुन सकेको छैन्, जंगलबाट खोटो ढुवानी गरेर श्रीनगरमा जम्मा गरिएको छ, तर अहिले सम्म वन समुहले पाउने रोयल्टी पाईएको छैन्’ उहाँले सल्यान टुडेलाई भन्नुभयो ।
उहाँले जंगलमा खोटो संकलन गरेका मजदुरहरुले समेत ३ बर्ष बित्दा पनि ज्याला नपाएको बताउनुभएको छ । ‘जंगलमा खोटो संकलन गरेकाले ज्याला पाएका छैनन्, खोटो ढुवानी गरेकाहरुले पनि ज्याला पाएका छैनन्, यसले गर्दा सयौँ मजदुरहरु समस्यामा परेका छन्’ उहाँले भन्नुभयो ‘वन समुहले पनि २०७५ साल पछि २ बर्ष भयो अहिलेसम्म खोटो संकलन गर्न पाएको छैन्, यसले गर्दा सामुदायिक वनलाई ठूलो नोक्सानी भएको छ ।’
शारदा नगरपालिका १३ स्यानीखालमा रहेको घोरनेटी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष छविलाल रोकाले सम्झौता भएको ७/८ बर्ष सम्ममा सम्झौता अनुसार नै काम गरेको भएपनि अहिले भने संकलन भएको खोटो निकासी नगर्दा समस्या भएको बताउनुभएको छ । उहाँले खोटो संकलन गरेको ३ बर्ष हुदाँ पनि मजुदर र ढुवानीकर्ताले ज्याला नपाएको बताउनुभएको छ । जिल्लाका साजखर्क सामुदायिक वन, बाघपाली सामुदायिक वन, सरस्वती सामुदायिक वन लगाएतका आधा दर्जन बढी सामुदायिक बनमा संकलन भएको खोटो निकासी नहुदाँ समस्या भएको छ ।
ती सामुदायिक बनमा संकलन गरिएको खोटो ढुवानी गरेर जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा जम्मा गरिएको छ । सम्झौता अनुसारको काम गर्न मनकामना रोजिन एण्ड केमिकल्स उद्योग प्रालिमा सम्पर्क गर्दा पनि अहिले सम्म सम्पर्क विहिन अबस्थामा रहेको छ । बिगतमा राम्रो सहकार्य गर्दै आएका उद्योगका अभिनन्द प्रसाद गुप्ता अहिले सम्पर्क विहिन भएको सामुदायिक वनहरुले जनाएका छन् ।
अहिले त्यस उद्योग सँग गरिएको सम्झौता खारेज गरी खोटो निकासी गर्ने तयारी भैरहेको सामुदायिक वनहरुले बताएका छन् । डिभिजन वन कार्यालय सल्यानले पनि यस वारेमा पत्राचार गरेर नै सम्पर्क गर्ने खोजिएपनि सम्पर्कमा नआएको जनाएको छ । कार्यालयका सुचना अधिकारी मनोज शर्मा लम्सालले अहिले पनि त्यस कम्पनी सम्पर्कमा नआएको जानकारी दिनुभयो ।
यस बारेमा वन समुहबाट कार्यालयमा निवदेन समेत आएको बताउदैँ उहाँले संकलित खोटो वन समुहको सम्पती भएकाले पत्रिकामा सुचना निकालेर सम्पर्कमा गर्न सुझाव दिएको बताउनुभयो । यदी सोही अबधिमा पनि कम्पनी सम्पर्कमा नआए सम्झौता रद्ध गरेर वन समहुले अर्को कम्पनीलाई दिन सक्ने वा लिलाम गर्न सक्ने जनाईएको छ । यस बारेमा बुझ्न हामीले पनि उद्योगका अभिनन्द प्रसाद गुप्तासँग सम्पर्क गर्ने प्रयास गरेपनि सम्पर्क हुन सकेन् ।